नेपालले जित्याे त्रिदेशीय फुटबल कपकाे उपाधि

 चैत १६, २०७७ सोमबार १९:३३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – नेपालले त्रिदेशीय फुटबल कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेकाे हाे ।  

नेपालका लागि लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । पहिलाे हाफमा नेपालले दुई–शून्यकाे अग्रता बनाए पनि दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गरेकाे हाे । बङ्गलादेशले खेलकाे ८३ औँ मिनेटमा गाेल फर्काएकाे हाे ।  

याे जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेकाे हाे । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो ।

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो । बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक–शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

आजको जीतसँगै नेपालको गोलविहीनताको खडेरी पनि तोडिएको छ । पछिल्ला सात खेलमा गोल गर्न नसकेको नेपालले आज दुई गोल गर्दै गोलको खडेरी तोडेको हो । १० सेप्टेम्बर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपालले पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन । 

उपाधि जितेकाे नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेकाे बङ्गलादेशले भने तीन हजार डलर प्राप्त गरेकाे छ । 

यही महिना आयाेजना हुने तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले विश्व कप छनोट तयारीलाई मध्यनजर गर्दै त्रिदेशीय कप फुटबल प्रतियाेगिताकाे आयोजना गरेको हो । 

यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि घरेलु फुटबल खेल्ने महर्जनले बताएका छन् । उनलाई खेल हेर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर प्रदान गर्नुभएकाे छ । 

खेल अवधिभर मैदानमा बिताउनुभएका प्रधानमन्त्री ओलीले नेपालले गाेल गर्दा उठेर ताली बजाउँदै खेलाडीकाे हाैसला बढाउनुभएकाे थियाे ।   

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया