उठ्नुहोस्, मौनधारण गरौँ !

 भदौ ११, २०७५ सोमबार ९:१९:२० | लक्ष्मण गाम्नागे
unn.prixa.net

मेरा हजुरबा पुस्ताका एक मात्र बाँकी जन्तरे हजुरबा पनि बितेको समाचार आयो यसपालि असारमा । हजुरबाको निधनको सातौँ दिनमा म गाउँ पुगेँ । मधेशको ठाउँ । असारको महिना । गर्मी कडा थियो । घरमा शुभचिन्तकहरूको भिड रहेछ । अगाडि स्वर्गीय हजुरबाको ठूलो तस्बिर थियो । दायाँवायाँ, वरपर दर्जनौँ फ्रेम गरिएका समवेदना पत्रहरू फिँजाइएका थिए । भित्ताहरूमा हजुरबाका तस्बिर अंकित व्यानरहरू झुण्डिएका थिए । 

गाउँमा मरुमराउका घटनामा खासै सहभागी नभएकाले मलाई अलि नौलोे लागिरहेको थियो । म पुग्दा शोकसन्तप्त परिवारजनका सदस्यहरू लगायत सबैजना आगन्तुकहरू शान्तपूर्वक उभिएका थिए । म पनि भान्जालाई झोला थन्क्याउन दिएर समूहमा मिसिएँ । यतिकैमा एकजना भलाद्मीले हाते माइकमा फू फू गरेर फुके । 

भलाद्मी बोले, “उपस्थित सबैमा म नेपाली कांग्रेस पार्टी गाउँ समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्पmबाट जय नेपालको अभिवादन गर्दछु । दाइ बित्नुभएको दुखद् घडीमा सर्वप्रथम हामी शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छौँ । स्वर्गीय दाइप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्न चाहन्छौँ । सबभन्दा पहिला आजको यस शोकसभाको अध्यक्षता गरिदिनुहुन हाम्रो पार्टीका गाउँ समितिका सभापति अखण्डबहादुर खड्का दाइलाई अनुरोध गर्दछु । त्यसैगरी कार्यक्रमको प्रमुख अतिथिको आशनग्रहणका लागि स्वर्गीय दाइकी धर्मपत्नी हजुरआमा मनमाया मर्तेलज्यूलाई अनुरोध गर्दछु ।”

एवं रितले उद्घोषकले उनको पार्टीका पदाधिकारी दाइहरूलाई, शोकाकूल परिवारका सबैलाई आशनग्रहण गराए । किरियापुत्रीमध्येको खन्तरे भाइ शोकसभामा नदेखिएकाले खोजी भयो । उद्घोषकले शोकसभामा सबैको अनिवार्य उपस्थिति हुनुपर्ने उर्दी जारी गरे । बिचरा काइँलो न्यून रक्तचापले थलिएर सुतेको रहेछ । 

यो उखरमाउलो गर्मीमा बिहानदेखि अहिलेसम्ममा जम्मा नौपटक यसैगरी मौनधारणका लागि उठ्दै बस्दै गर्दागर्दै काइँलो मात्र होइन बाँकी सबै पनि निकै शिथिल देखिन्थे । खन्तरे उठ्न नसक्ने अवस्थामा पुगेको जानकारी गराएपछि उद्घोषकले भने, “केही हुँदैन । एक्कैछिन हो । आफ्ना पिताजीप्रति गहिरो भक्तिभाव र श्रद्धा राखेर काजकिरिया गर्न बसेको छ भने पितृहरूको आशिर्वादले यो १३ दिनसम्म कुनै प्रकारका रोग, बिमारले छुँदैन । यसरी सुत्नु हँुदैन । सबैलाई अगाडि राखेर हामी समवेदना सन्देश दिन चाहन्छौँ । एक्कैछिनका लागि भाइलाई यहाँ आउन अनुरोध गर्छु ।”

यति भनेर कार्यक्रम सञ्चालक रोकिए । तर भाइ उठ्नै सकेन । ऊ आउन नसक्ने जानकारी गराएपछि कार्यक्रम अघि बढ्यो । एकजनाले स्वागत भाषण गरे । एकजनाले समवेदना सन्देश पढेर सुनाए । हजुरबाको तीनपुस्ते, जन्मथलोको प्राकृतिक वर्णन, पिताजीले समाजमा पु¥याएको योगदान, दर्जनौँ सन्तानहरूको विवरण आदि इतिवृत्तान्त समेटेर तयार पारिएको रहेछ समवेदना सन्देश । बयानब्बे वर्षको उमेरमा मर्दा पनि अल्पायुमै स्वर्गारोहण भएको चिन्ता र समाजलाई अपूरणीय क्षति पुगेको कुरा सुनेर हामी आफन्तजन पनि छक्कै पर्‍यौँ । हजुरबालाई जिउँदो हुन्जेल हामीले चिन्न सकेनछौँ भन्ने पश्चातापको भावले मन कटक्क भयो । 

मृत्युपछि  मान्छेका अवगुणहरू बिर्सनु पर्छ भन्थे, हो रहेछ । जमानाका निकै दुष्ट स्वभावका बूढा । वैधानिक रुपमा चारवटी बिहे गरेका तर बूढेशकालमै पनि बेलाबेला अरु अरु महिलाहरूमाथि हातपातको आरोप लागेको सुनिन्थ्यो केही वर्षअघिसम्म पनि । गाउँका केही केटाकेटीका अनुहार हजुरबाको अनुहारसँग मिल्छ भनेर कुरा काट्नेहरू र अनुहार मिल्नेहरूमध्ये यो सभामा पनि देखिँदैछन् ।

जमानामा मान्छे कुट्ने, कुटाइ खाने अनेक घटनाहरू पनि सुनिन्थे । दूध दुहुँदा लात्तीले हानेको रिसमा गाईलाई कुटेर मारेको घटनामा हजुरबालाई केही दिन थुनामा पनि बस्नुपरेको थियो । तर अस्ति उनलाई माईमा लगेर सद्गत गरेका दिन सबैले ती अप्रिय सम्झनाहरूलाई पनि उतै सद्गत गरेर आएछन् । 

समवेदनाको भाषा सुन्दा अरु नै कसैको समवेदना सन्देशको कपि पेष्ट परेको हो कि भनेर मैले भान्जालाई सोधेँ । उनले भने, “गाउँघरमा जो मरे पनि उपिन्द्रेको साइबरमा गएर समवेदना सन्देश बनाउने हो । उसले नाम, ठेगाना, उमेर, लिङ्ग आदि मिलाइदिन्छ । यसलाई कपि पेष्ट नै त भन्न नमिल्ला ।” 

जे होस्, गाउँमा आएको यो जागरण, एकता, एकअर्काप्रतिको सद्भावना देखेर साह्रै आनन्द लाग्यो । समवेदना सन्देश पाठ पछि शोकाकूल परिवारको तर्फबाट जेठा छोराले सबैलाई धन्यवाद दिनुपर्ने रहेछ । तर चार दिनदेखि धन्यवाद भाषण गर्दागर्दै जेठाको स्वर सुकेकोले आजदेखि माइलाले भाषण गर्ने चान्स पाएको रहेछन् । अन्तमा सभापतिले सभा विसर्जन गरेपछि फलफुल, जल, चियापान हुँदोरहेछ । व्यवस्थित रुपमा ती सबै कर्महरू सकिए । हेर्दाहेर्दै आँगनमा एउटा पूर्ण सभा सम्पन्न भयो ।

वरपर छरिएका, टाँगिएका समवेदना सान्देशहरू हेर्दा थाहा भयो, भएभरका सबै राजनीतिक दलहरू, विभिन्न वर्गीय संगठनहरू, जेष्ठ नागरिक समाज, हजुरबाको थर र गोत्रका संगठनहरू, टोल सुधार समिति, युवा क्लव, आमा समूह, भजन मण्डली, सहकारी समूह अनेक टोलीहरू आएर सभा गर्दारहेछन् । उनीहरूको मृतकप्रतिको श्रद्धा, शोकाकूल परिवारजनप्रतिको प्रेम, आत्मीयता र समर्पण देखेर अद्भूत अनुभव र खुशी लागेर आयो । 

कांग्रेस पार्टीको समूह निस्कँदै गर्दा अर्को एउटा ठूलो समूह हजुरबाको हँसिलो भव्य तस्बिर सहितको विशाल समवेदनापत्र बोकेर आइपुग्यो । भान्जाले भने, “यो चाहिँ नेकपाको जुलुस हो । जिउँदो हुन्जेल हजुरबालाई कांग्रेस भनेर खेदो गर्थे तर हेर्नोस् कत्रो ठूलो समवेदनापत्र ल्याए । यो कान्छी फुपूको करामत हो । कान्छी फुपू क्रान्तिकारी महिला संघकी अध्यक्ष नि त । सबैभन्दा खत्रा समवेदना हाम्रै आउँछ भन्दैथिइन् । हो रैछ ।”

सभा शुरु भयो । पार्टीका गाउँ कमिटि सचिवले बोल्न थाले, “शोकाकुल माता कमरेड, यसै परिवारकी छोरी क्रान्तिकारी महिला संघकी अध्यक्ष कमरेड, कृयापुत्री कमरेडहरू, भाउजु, बुहारी, दिदी बहिनी कमरेडहरू, परिवारका अरु शोकाकूल सदस्य कमरेडहरू तथा उपस्थित कमरेडहरू, न्यानो अभिवादन् । सर्वप्रथम यस समवेदना सभाको अध्यक्षताका लागि हाम्रो पार्टीका गाउँ कमिटी अध्यक्ष कमरेड हरिलाल हमाललार्ई हार्दिक अनुरोध गर्दछु । (प्याट्टपुट्ट ताली बज्छ ।) कृपया ताली नबजाउनु होला । शोकको बेलामा ताली बजाउने, नमस्कार गर्ने, हात मिलाउने गर्नु हुँदैन । सबैले अँध्यारो मुख लगाउनुपर्छ, सके रुनु पर्छ । यसो गर्दा पीडा कम हुन्छ । हाम्रो कर्तव्य मृतकका परिवारजनको पिडा कम गर्नु नै हो ।”  

यो पार्टीले पनि हजुरआमा कमरेडलाई नै प्रमुख अतिथि बनायो, स्वागत मन्तव्य पार्टीका गाउँ कमिटी उपाध्यक्ष कमरेड हुतराम हुमागाईँले दिए । कमरेड हुमागाईँले हजुरबाले आफ्नो पार्टीलाई कहिल्यै भोट नहाले पनि पार्टीले कसैलाई पनि पूर्वाग्रह नराखेको कुरा बताए । उनले हजुरबाले जीवनभरि समर्थन गरेको पार्टीले एक मिनेट मौनधारण गरेकोमा आफ्नो पार्टीले दुई मिनेट मौनधारण गर्न लागेको, उनीहरूले जम्मा दुई फिटको समवेदना व्यानर ल्याएकोमा आफ्नो पार्टीले पिताजीकै उचाइको पाँच फिटको ताम्रपत्र ल्याएर सबैलाई चुनौती दिएको कुरा बताए । प्रायः सबै समय मुख्य विपक्षी दलको उछितो काड्नमै बिताएर उनीहरूले कार्यक्रम सके । 

हाम्रो शोकाकूल पार्टीलाई यी दुई ठूला पार्टीले लगातार एक घण्टा उभ्याए । भान्जाले बताए हजुरबा बितेको पर्सिपल्टदेखि नै यो क्रम जारी छ । यस्ता समूहहरूले समवेदना प्रकट गरेर यो घरलाई निरन्तर शोकमग्न बनाइराख्न ठूलो मद्दत गरेका छन् ।   

क्रान्तिकारी समूहको सभा सकिएको एकछिनपछि हजुरबाको सानो तस्बिर सहितको भित्ते पात्रो टाइपको लघु ब्यानर हातमा लिएको तीनजनाको टोली आँगनमा प्रवेश गर्यो । उनीहरूले ठाडैखुट्टा सभा शुरु गरिहाले । समूहकी महिला सदस्यले भनिन्, “कृपया सबैजना उठिदिनुहोला । हामी टोल उपभोक्ता समितिको तर्फबाट हजुरबुबाको आत्माको शान्तिका लागि प्रार्थना गर्न आएका छौँ ।”

हामी उठ्नैलाग्दा हाम्रा माझ अगाडिदेखि नै बसिरहेका एकजना बूढा मान्छे जुरुक्क उठे र चर्किएर कराए, “खबरदार कोही पनि नउठ्नुहोला ! यो कुनै उपभोक्ता समिति होइन । यी तीनजना व्यक्तिहरू समितिले कारबाही गरेर निश्कासन गरेका व्यक्तिहरू हुन् । निश्कासित भएका व्यक्तिहरूले टोल सुधारको नक्कली व्यानरमा समवेदना दिन पाइँदैन । हामीेले समितिको तर्फबाट हिजै कार्यक्रम गरिसक्यौँ ।”

नवआगन्तुक महिला अलि जोडले चिच्याइन, “उठ्नुहोस् न तपाईँहरू ! उपभोक्ता समितिका आधिकारिक सदस्यहरू हामी हौँ । हामीसँग बहुमत छ । यिनीहरूले षड्यन्त्रपूर्वक हाम्रा समर्थकहरू बाहिर गएको मौकामा निश्कासनको निर्णय गरेको हुँदा यो निर्णय गैर कानूनी छ । भ्रष्टाचारी हामी हैन, यिनीहरू हुन् । अध्यक्ष र कोषाध्यक्ष मिलेर गरेको भ्रष्टाचारको पोल खुल्ने डरले यिनीहरूले हामीलाई निश्काशनको नाटक गरेका हुन्् । तपाईँहरू यिनीहरूको बहकाउमा नलाग्नुहोस् । उठ्नुहोस् । हामी पिताजीको स्मरण गर्दै एक मिनेट मौनधारण गरौँ ।”

किरियापुत्रीहरू सहित हामी फेरि आधा उठेका थियौँ, पुरानो टोलीका अर्का सदस्य कराए, “तपाईँहरू कोही पनि नउठ्नुहोस् है ! यिनीहरू आउने सुइँको पाएर अघिदेखि यही खबरदारी गर्न हामी यहाँ बसेका हौँ ।” हामी फेरि बस्यौँ ।

उनले थप प्रष्ट पारे, “तपाईँहरू कोही पनि नउठ्नुहोस् । टोेल उपभोक्ता समूहको तर्फबाट हिजै मौनधारण भइसकेको छ । मौनधारण गर्ने भनेको ठट्टा हो र, एउटै समूहका नाममा पटकपटक गर्नलाई ? यिनीहरू भ्रष्ट मात्रै होइन, मतिभ्रष्ट पनि हुन् । त्यतिकै हामीले यिनीहरूलाई बर्खास्त ग¥या होइन ।” 

“तपाईँले कसलाई मतिभ्रष्ट भनेको ? आफ्नै घरपरिवारकी महिलामाथि अनुमानका भरमा लान्छना लगाउन पाइन्छ, ए भिनाजु ? के प्रमाण छ तपाईँसँग ?” सानो टोलीको अधवैंशेले पाखुरा सुर्कियो र हामीतिर हेरेर निर्देशन जारी ग¥यो, “उठ्नुहोस् सबैजना, मौनधारण शुरु हुन्छ । ल, शुरु !” हामी उठ्न नभ्याउँदै “शुरु” भनेर तीनजनाले मुन्टो निहुराइहाले । हामी हत्तपत्त उठ्न लाग्दा अघिल्लो समूहका बूढा दौडेर आए र तीनजनाका अघिल्तिर उभिएर कराए, “खबरदार, कोही उठ्ला ! यो अवैधानिक मौनधारणलाई कसैले मान्यता देला !” बूढाले थर्काएपछि हामी फेरि बस्यौँ । तीनजनाको मौनधारण तीन सेकेण्डमै भङ्ग भयो ।

मौनधारण भङ्ग गरिएकोमा उत्तेजित भएका तीन सदस्यीय टोलीमध्येको तेश्रो अधवैंशेले बूढाका नाकैमा औँलो पुर्‍यायो र सोध्यो, “तपाईँले के खोजेको हँ काका ?” 

“यी यै खोजेको ।” भन्दै बूढाले अधवैंशेलाई पर घँचेडे । 

मलाई भान्जाले उनीहरूको नाता सम्वन्धका बारेमा प्रष्ट पारे । तिनीहरू यहीँ छिमेकी टोलका नजिकका नातागोताका मानिसहरू रहेछन् । टोल सुधार तथा उपभोक्ता समितिमा सबै आफन्तै आफन्त रहेछन् । गएको स्थानीय निर्वाचनमा राजनीतिक संलग्नता फरक पर्नाले यो रडाको शुरु भएको रहेछ । 

भान्जाले यति कुरा बताउँदै गर्दा सानो टोलीकी महिला सदस्य पनि बूढातिर जाइलागिन्, “तपाईँले भन्न खोज्नुभएको के हो सानाबा ? पार्टी अर्को भयो भन्दैमा मुखमा जे जे आउँछ त्यही त्यही बक्ने ? तपाईँले अध्यक्ष हुँदा कति भ्रष्टाचार गर्नुभयो, एक एक गरेर खोलिदिऊँ ? घरभित्रका कुरा हामीलाई थाहा छैन भन्ठानेको ? ”

बूढा अलि मत्थर भए र भने,“ तिमीहरूको झगडा गर्ने ठाउँ हो त यो ? मिटिङमा कुरा गरे हुँदैन ? जाओ तिमीहरू खुरुक्क !”   

“हामी सभा नगरी त मरिगए जाँदैनौँ । ल उठ्नुस् सबैजना, मौनधारणका लागि ।” सानो टोलीकी उद्घोषकले पुनः अनुरोध गरिन् । हामी उठ्न लाग्यौँ तर बूढाले थर्काए, “ल हेरौँ त को उठ्दोरैछ !” हामी थुचुक्क भयौँ ।  

हाम्रो आँगनमा आतङ्क हुन लाग्यो । हामी उठ्दै बस्दै गरिरह्यौँ । विवाद चर्किँदै गएर सानो टोलीले हामी कतिपयलाई हातै तानेर उठायो र मौनधारणका लागि अनुरोध ग¥यो । यतिकैमा पहिलो टोलीका पाँच छ जना मान्छेहरू ज¥याक जुरुक उठेर हामीलाई भुइँमा थचारे र सानो टोलीका तीनै जनालाई घँचेटेर पर सडकमा पु¥याए । एकछिन घँचेडाघँचेड भयो । सानो टोलीका एकजनाले हातमा लिएको व्यानर झ्वार झ्वार पारेर च्यातेर हामीतिर हु¥र्याए र औँला ठड्याएर ‘पखौला तिमीहरूलाई’ भन्दै बाटो लागे ।   

उनीहरू हिँडेपछि पहिलो टोलीको काम पनि सकियो क्यारे ! उनीहरू पनि ठूलोे युद्ध जितेकोमा गौरवान्वित हुँदै दुईदुई गिलास जुस पिएर हामीलाई पुनः धैर्यधारण गर्ने शुभकामना दिएर बाटो लागे । यसै बीचमा अरु दुईवटा टोली आएर क्यूमा लागिसकेका थिए । 

नवआगन्तुक दुई टोलीमध्ये एक टोलीका कार्यक्रम सञ्चालकले भने, “ल सबैजना उठ्नुहोस्, हामी स्वर्गीय हजुरबुबाको आत्माकोे शान्तिका लागि एक मिनेट मौनधारण गरौँ !” 

हामी उठ्ताउठ्तै बस्नुपर्ने हो कि भनेर अल्छी मान्दै मान्दै उठ्तै गर्दा अर्को टोलीका सञ्चालकले नियमापत्ति गर्दै भने, “बस्नुस् बस्नुस् । पहिला हामी आइपुगेका हौँ, पहिला हाम्रो पालो ।” 

हामी फेरि उठ्ने गरी फेरि बस्यौँ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया