कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबा...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्न्यासकाे घोषणा गरेका छन् । संयोग यो मिलेको छ, नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध प्राप्त गरेको सफलताको दिनमा खड्काले अन्तर्राष्ट्रिय करिअरबाट बिदा लिने निर्णय लिएका छन् ।
सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट बिट मारेका हुन् ।
डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका नेपाली क्रिकेटर पारस खड्काले मङ्गलवार समाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका हुन् ।
उनको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्व कप पनि खेल्ने मौका पायो । त्यो समय खड्काले नै नेपाली टोलीको कप्तानी सम्हालेका थिए । २०१८ मा जिम्बाब्वेमा भएको विश्व कप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नेपालले पाएको थियो । त्यो समय पनि उनकै नेतृत्वमा नेपाली टोलीलाई एक दिवसीयको मान्यता हात लागेको थियो । उनै 'सफल कप्तान' र खेलाडीमध्ये एक खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय खेल करिअरबाट बिदाइ मागेका हुन् ।
नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट निलम्बन हुँदा अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारी वहन गर्दै खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाएका थिए ।
सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका अलराउन्डर पारसले सन् २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए । उनले विनोद दासको कप्तानको आर्मब्यान्ड पहिरिएका थिए । उमेर समूहका खेलबाट राष्ट्रिय टोलीसम्म ठाउँ बनाएका खड्काले बङ्गलादेशमा सन् २००४ मा भएको आईसीसी यु–१९ विश्व कप क्रिकेट खेलेका थिए । त्यही वर्ष मलेसियाविरुद्धको खेलमा आईसीसी इन्टरकन्टिनेन्टल कपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका खड्काले झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेर २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन् ।
विश्व वरीयतामा नेपाल अहिले १२ औँ स्थानमा छ । नेपालले एकदिवसीय मान्यता पाएको छ । नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउनका लागि कप्तानको जिम्मेवारी सम्हालेका खड्का सर्वाधिक सफल खेलाडी पनि हुन् । किन भने एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय दुवैमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् खड्का । सन् २०१९ मा यूएईविरुद्धको खेलमा पारसले करिअरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए । त्यही वर्ष सिङ्गापुरविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्दै पहिलो नेपाली खेलाडी बनेका थिए ।
पारसले नेपाली टोलीबाट १० अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका छन् । खड्काले १० खेलबाट तीन सय १५ रन जोडेका छन । त्यस्तै ट्वान्टी–२० मा ५६ खेल खेल्दा एक हजार तीन सय ७७ रन बनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।