गाउँघरमा मखमली फूल पाउनै मुस्किल

 कात्तिक २०, २०७८ शनिबार ८:१६:५६ | रासस
unn.prixa.net

पाल्पा - ‘मखमली फुल्दा मार्सी धान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । 

पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइनुका साथै तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।

हिजोआज भने मखमली फूल लोप हुँदै गएको छ । गाउँघरमा यो फूल भरसक पाउनै मुस्किल छ । दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीहरूका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ ।

अहिले यो फूल गाउँघरमा पाइनै छाडेको बताउनुभयो, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम । “मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई÷चारवटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्त्व नदिँदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्त्व राखेका फूलको संरक्षण हुन सकेको छैन”, उहाँले भन्नुभयो । रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ५६ वर्षीय गिरीमाया कुमालले तिहारमा मखमली फूलको महत्त्व नबुझेर लोप हुन लागेकाेमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, 'तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, घरको डिलमा दुई÷तीन बोट छन्, जोगाएर राखेको छु, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूल मात्रै हुन्थे, हिजो आज चामलमा बियाँ खोजेझैँ मात्र भेटिन्छ ।'

रामपुर–३ कामीगाउँकी ६७ वर्षीया सन्तकुमारी विकको घरको आँगनीमा मखमली फूलका दुई बोट छन् । सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्त्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई लगाउने तयारी गर्नुभएको छ । “फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढे, तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्त्व चिन्नै छाडेजस्तो लाग्यो”, उहाँले मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा ध्यान भने कसैको गएको पाइँदैन । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ ।

बैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ । नझर्ने, नओइलाउने र वर्षौँ पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर मानिन्छ । मखमली फूल नोपालीहरूका लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फुल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । यसको ठाउँमा प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै गइरहेको छ ।

तिहारमा मखमली फूलले विशेष महत्त्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउन पुगेको हो । बाहिरबाट भित्रिएका प्लाष्टिकका कृत्रिम मालामा उपभोक्ताको आकर्षण पनि उत्तिकै छ । अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फुल्ने सयपत्री र गुरधौली फूल पनि देखिन छाडेको छ ।

प्लाष्टिकको मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुरधौली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको हो । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्त्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया