संविधान दिवसमा टेलिकमको ल्यायाे सहुलियत योजना

 भदौ ३१, २०७५ आइतबार १६:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ – नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्धनात्मक योजना लागू गर्ने भएको छ ।

कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो ।

पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ ।

अहिले २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकको समयावधि सकिएपछि स्वचालित रूपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुनेछ ।

५१२ केबीपीएसको महसुल दर प्रतिमहिना एक हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी एकदेखि १० एमबीपीएसको प्रतिएमबीपीएसको दुई हजार ७ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस दुई हजार ४ सय रुपैयाँ र १०० एमबीपीएसभन्दा माथिको महसुल दर प्रतिएमबीपीएस दुई हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लेखित दरमा थप कर लाग्ने छ ।

आउँदो असोज १ देखि मङ्सिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत असीमित डाटा प्याकेजलगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ ।

यसअन्तर्गत असीमित डाटामा थप कर लाग्ने छैन । ‘भोल्युम वेस्ड प्याकेज’मा थप कर लाग्ने छ । व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस क्षमताको असीमित डाटा भोल्युम एक हजार ५ सय रुपैयाँमा उपलब्ध गराइने छ ।

त्यो प्याकेज चलाउने अवधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज एक हजार रुपैयाँमा उपलब्ध गराइने प्रवक्ता वैद्यले बताउनुभयो ।त्यसैगरी दुई एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ ।

यसअनुसार १५ दिनका लागि ५०० रुपैयाँमा १० जीबी, एक महिनाका लागि एक हजार रुपैयाँमा २० जीबी, तीन महिनाका लागि तीन हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।

एक वर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा एक हजार जीबी प्याकेज तथा एक वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा दुई हजार ३०० जीबी प्याकेज उपलब्ध गराइनेछ । 

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोङ्गलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । एक वर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यूएसबी डोङ्गल निःशुल्क उपलब्ध गराइने छ ।

संविधान दिवस २०७५ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ सहुलियत योजना ल्याएको छ । असोज १ देखि १५ गतेसम्म करसहित १८ रुपैयाँमा त्यो प्याक खरिद गर्न सकिने छ । 

प्याक खरिद गरेपश्चात ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्कभित्र जति पनि असीमित कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने टेलिकमले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया