नेकपा एसका नेताद्वारा पार्टी परित्याग गर्न एकै दिन दुई वटा पत्रकार सम्मेलन, ‘सानो पार्टी’ मा किन यति ठूलो विद्रोह ?

 बैशाख १४, २०७९ बुधबार १८:२८:२७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरमा यति चाँडै यति ठूलो विद्रोह होला भनेर कसैले पनि सोचेका थिएनन् । पार्टीभित्रका नेताहरूले त यस्तो कल्पनासमेत गरेका थिएनन् । तर, पार्टीको मकवानपुर नेतृत्व गरिरहेका बहालवाला अध्यक्ष श्रीधर पोख्रेलसहितका नेताहरूले वैशाख ३० गते हुने पालिका चुनावको मुखैमा पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ ।

पार्टी छाड्नका लागि दलबलसहित मनहरीबाट आज बुधवार हेटौँडा आइपुग्नुभएका नेकपा एस मकवानपुरका सचिवालय सदस्य वीरेन्द्र डीसीले पत्रकार सम्मेलन गरेको केही मिनेटमै फेरि पार्टीका जिल्ला अध्यक्ष पोख्रेलले समेत पार्टी परित्यागको घोषणा गर्नुभयो । उनीहरू दुवै जनाले केही नेतालाई साथमा लिएर हतार–हतारमा पत्रकार सम्मेलन गर्न भ्याए ।  

मनहरीबाट आएका नेताहरूको पत्रकार सम्मेलनमा पुगेका पत्रकारले नेकपा एसकै अर्को पत्रकार सम्मेलनसमेत भ्याए । यति मात्र होइन नेकपा एसमा ठूलै पहिरो जाने अध्यक्ष परित्याग गर्नुभएका पोख्रेलले बताउनुभयो । पार्टीमा गठबन्धनको नाममा अन्याय भएको नेताहरूले बताएका छन् । भर्खर जन्मिएको पार्टीमा पनि चरम गुटबन्दी भएको उनीहरूको भनाइ छ । पालिका चुनावमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै दुई नेताले पार्टी परित्यागको घोषणा गरेका हुन् । 

पार्टी परित्याग गर्दै पोख्रेलले भन्नुभयो, ‘गठबन्धनको नाममा जे जसरी अँध्यारो कोठामा बसेर नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पर्ने गरी आफ्नो कुत्सित मनसाय पूरा गर्न जे षड्यन्त्र भयरहेको छ र एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति मेरो असहमति रहेको जनाउँदै आठ महिना अगाडि भएको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्त्वाकाङ्क्षा र पदप्रतिको चरम इच्छा र सोच मात्र रहेछ । चुनावपछि देशव्यापी रूपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिस्ट आन्दोलनसमेत क्षतविक्षत हुने मेरो ठहर छ । मलाई आठ महिना नेकपा (एस) मकवानपुर जिल्लाको अध्यक्ष मै रहँदा साथ सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद दिँदै कम्युनिस्ट आन्दोलनको रक्षाका लागि विद्रोह गर्न र व्यक्तिवादी प्रालिको विरुद्ध आवाज उठाउन हार्दिक अनुरोधसमेत गर्दछु ।’ 

यसैगरी जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र सङ्गठन निर्माणको काममा लागेकाहरूलाई बाइपास गरेको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो । पोखरेल र डीसी नेकपा एमाले विभाजनपछि नेकपा (एस) मा आबद्ध भएका थिए । उनीहरू दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने बताएका छन् ।

यस्ताे छ पत्र–

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया