आयाेगले मतदान अधिकृतलाई साेध्याे– भट्टराईलाई मतदान केन्द्रभित्र फोटो खिच्न किन नरोकेको ?

 बैशाख ३०, २०७९ शुक्रबार १७:२७:२ | किरण लोहनी
unn.prixa.net

मतदान गर्दै डा. भट्टराई

गाेरखा – जसपाका नेता डा. बाबुराम भट्टराईले मत हाल्नुभएको मतदान केन्द्रका मतदान अधिकृतलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएका भट्टराईले मत सङ्केत गरेको मतपत्र सार्वजनिक गर्नुभएको थियो । आयोगले त्याे केन्द्रका मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीलाई मोबाइल र क्यामेरा लैजान निषेध गरिएको क्षेत्रमा भट्टराईले फोटो खिच्न कसरी सम्भव भयो भनेर यथाशीघ्र स्पष्ट पार्न भनेको हो ।

आयोगले भट्टराईले के कसरी निषेधित स्थानमा फोटो लिने अर्को व्यक्ति र फोटो लिने सामग्री क्यामेरा वा मोबाइल लानुभयो भनेर मतदान अधिकृत रुपाखेतीलाई प्रश्न गरेको छ । यस्तै आयाेगले भट्टराईले फोटो लिने सामग्री मोबाइल वा क्यामेरा साथमा लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन भनेर स्पष्ट पार्न भनेको छ । 

भट्टराईले मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगी मतपत्रमा गोप्य मत सङ्केतको फोटो खिचेको भए उहाँलाई तत्काल निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ को उपदफा (२) बमोजिम किन कारबाही गर्नुभएन ? भनेर पनि अन्नपूर्ण मावि मतदान केन्द्रका मतदान अधिकृतलाई प्रश्न सोधेको छ । यसअघि आयोगले भट्टराईलाई पनि स्पष्टीकरण सोधेको छ ।

भट्टराईले आफ्नो ट्विटर ह्यान्डलबाट मतदान गरेकाे फाेटाे सार्वजनिक गर्दै लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार वा मत खुला रूपमा व्यक्त गर्न पाउनु हो भन्नुभएको छ । मतदान भनेको गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन भन्ने उहाँको जिकिर छ । 

देशको पूर्वप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफूले मतदान गरेको मत सङ्केत सार्वजनिक गरी निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ को उपदफा (१) को जानाजान उल्लङ्घन गरेकाे आयाेगले बताएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया