नवौँ राष्ट्रिय खेलकुद : गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

 असोज २७, २०७९ बिहिबार १६:२:५२ | किरण लोहनी
unn.prixa.net

गोरखा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीवारदेखि गोरखामा बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गाेटी चालेर बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभयाे ।  

गोरखा क्याम्पसको सभा हलमा हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैरआवासीय नेपाल सङ्घ गरी ११ टिमका खेलाडी सहभागी छन् । एउटा टिमबाट तीन पुरुष र तीन महिला गरी ६६ जनाले प्रतियोगितामा भाग लिएका प्रतियोगिताका मुख्य निर्णायक यासिर खम्बुले बताउनुभयो । 

प्रतियोगिताअन्तर्गत स्विस लिग सिस्टमबाट नाै राउन्ड (चरण) को खेल हुने उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा नाै राउन्डकाे क्लासिकल खेल हुनेछ भने त्यसपछि र्‍यापिड राउन्ड सुरु हुनेछ । अन्त्यमा ब्लिज खेलसँगै विजेताको टुङ्गो लाग्ने बुद्धिचालका अर्का अन्तर्राष्ट्रिय निर्णायक महेश्वर डंगोलले बताउनुभयो । ‘क्लासिकल राउन्डका लागि ९० मिनेट र अतिरिक्त ३० सेकेन्डको समय निर्धारण गरिएको छ, र्‍यापिड १५ मिनेट र अतिरिक्त १० सेकेन्डको हुन्छ भने ब्लिज राउन्डका लागि ३ मिनेट र अतिरिक्त २ सेकेन्डको समय छुट्याइएको छ’, डंगोलले भन्नुभयाे । 

क्लासिकल राउन्डका लागि पाँच दिन, र्‍यापिडका लागि दुई दिन र ब्लिज राउन्डका लागि एक दिनको समय छुट्याइएको छ । ६ विधाको १८ पदकको छिनोफानो कात्तिक २ गते हुने उहाँले जानकारी दिनुभयो । क्लासिकल, र्‍यापिड र ब्लिज अन्तर्गत महिला र पुरुष दुवै खेलाडीको सहभागिता रहने गरी तीन विधाका खेल हुनेछन् भने पुरुषतर्फ थप तीन विधाका खेल हुने प्रतियोगिताका मुख्य निर्णायक यासिर खम्बुले बताउनुभयो । तीन विधामा ६ स्वर्ण, ६ रजत र ६ कास्य पदक विजेता छनाेट हुने उहाँले जानकारी दिनुभयो । 

प्रतियोगितामा ११ टिमका ६६ खेलाडीसहित ११ जना निर्णायक र टिम व्यवस्थापकलगायतको सहभागिता रहेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका धेरैजसो खेल पोखरामा हुनेछ । गण्डकी प्रदेशका अन्य जिल्लामा पनि केही विधाका प्रतियोगिता सञ्चालन गर्ने राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार बुद्धिचाल प्रतियोगिता गोरखामा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया