बुद्धिचाल 'क्लासिकल' को महिलातर्फ सुजना लोहनीलाई स्वर्ण, खुलामा विवाद

 असोज ३१, २०७९ सोमबार २०:२९:३२ | किरण लोहनी
unn.prixa.net

गाेरखा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा चलिरहेकाे बुद्धिचाल प्रतियोगिताको 'क्लासिकल' राउन्डकाे महिलातर्फ सुजना लोहनीले स्वर्ण पदक जितेकी छिन् । महिलातर्फ नाै वटै खेलमा अपराजित रहँदै त्रिभुवन आर्मी क्लबकी लोहनीले स्वर्ण जितेकी हुन् । 

त्रिभुवन आर्मीकै सिन्दिरा जोशीले ७ दशमलव ५ अंक प्राप्त गर्दै रजत पदक र प्रदेश १ की खुश्बु थापाले ६ दशमलव ५ अंक प्राप्त गर्दै कास्य पदक जितेकी छिन् । 

गोरखा क्याम्पसमा भइरहेको बुद्धिचालअन्तर्गत 'क्लासिकल' खुलातर्फको खेल भने विवादमा परेको छ । खुलातर्फ गैरआवासीय नेपाली संघका आशिष फुयाँलले ७ दशमलव ५ अंक प्राप्त गरेर स्वर्ण पदकको हकदार बने पनि आयोजकले अन्तिम नतिजा सार्वजनिक गरेको छैन । प्रदेश १ को खेलकुद विकास बोर्डले गैरआवासीय नेपाली संघबाट खेलिरहेका आशिषसहित केही खेलाडीलाई मापदण्ड विपरीत सहभागी गराइएको भन्दै आज सोमवार उजुरी गरेपछि खुलातर्फको नतिजा अन्याेलमा परेको हो । 

राष्ट्रिय खेलकुद परिषद्को कार्यविधिमा गैरअवासीय नेपाली संघबाट खेल्ने खेलाडीहरू प्रतियोगितामा सहभागी हुन १ सय ८० दिन विदेशमा बसेको हुनुपर्ने भए पनि फुयाँल मापदण्ड विपरीत सहभागी गराइएको प्रदेश १ को खेलकुद विकास बोर्डको दाबी विरोधमा उल्लेख छ । मापदण्ड विपरीत सहभागी भएका खेलाडीले प्रदेश १ का खेलाडीसँग खेलेका खेलको नतिजा आफ्ना खेलाडीको पक्षमा हुनुपर्ने पनि दाबी विरोधमा उल्लेख छ । 

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बुद्धिचाल प्रतियोगिताका संयोजकलाई सम्बोधन गर्दै पेस गरेको दाबी विरोधबारे आयोजकले कुनै निर्णय गरिसकेको छैन । दाबी विरोधमा बुद्धिचालमा सहभागी पाँच जना खेलाडी मापदण्ड विपरीत सहभागी भएको जनाइएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया