बुद्धिचालमा आर्मीलाई ५ स्वर्ण, सुजना लोहनीको कीर्तिमानी 'ह्याट्रिक'

 कात्तिक २, २०७९ बुधबार १९:५७:४४ | किरण लोहनी
unn.prixa.net

गोरखा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ५ स्वर्णसहित १० पदक जितेको छ ।

बुद्धिचालको ६ स्वर्णसहित १८ पदकका लागि भएको प्रतियोगितामा आर्मीकी सुजना लोहनीले तीन स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरिन् । प्रतियोगिताको २७ खेलमा नै सुजना अपराजित रहिन् । बुद्धिचालमा यो कीर्तिमान कायम गर्ने उनी पहिलो खेलाडी बनेकी प्रतियोगिताका एक निर्णयक यासिर खम्बुले बताउनुभयो । लोहनीले महिलातर्फको क्लासिकल, र्‍यापिड र ब्लिट्ज गरी ३ वटै विधामा स्वर्ण पदक जितेकी हुन् । महिलातर्फको क्लासिकलमा आर्मीकै सिन्दिरा जोशीले रजत र प्रदेश १ की खुश्वु थापाले कास्य पदक जितिन् ।  

महिला र्‍यापिडमा प्रदेश १ की कृतिसरा अधिकारीले रजत र गण्डकी प्रदेशकी पूजा भण्डारीले कास्य पदक जितिन् । महिलातर्फको ब्लिट्ज राउन्डमा नेपाल पुलिस क्लबकी पूर्णिमा गुरुङले रजत र त्रिभुवन आर्मीकी सिन्दिरा जोशीले कास्य पदक जितिन् । खुलातर्फको र्‍यापिड र ब्लिट्ज राउन्डमा पनि आर्मीकै रुपेश जयसवालले दोहोरो स्वर्ण पदक जिते । यस्तै र्‍यापिडमा त्रिभुवन आर्मी क्लबका मिलन लामाले रजत र पुलिस क्लबका सुरवीर लामाले कास्य पदक जिते । खुलातर्फको ब्लिट्ज राउन्डमा पुलिस क्लबका क्षितिज भण्डारीले रजत र त्रिभुवन आर्मीका सजिन महर्जनले कास्य पदक जिते । 

खुला क्लासिकलतर्फको तीन वटै पदक भने होल्ड गरिएको आयोजकले जनाएको छ । गैरआवासीय नेपाली सङ्घका पाँच जना खेलाडीलाई मापदण्ड विपरीत सहभागी गराइएको भन्दै प्रदेश नम्बर १ को खेलकुद बोर्डले दाबी विरोध पेस गरेपछि मेडल र प्रमाणपत्र वितरण नगरिएको बुद्धिचाल प्रतियोगिताका निर्णायक मध्येका एक यासिर खम्बुले बताउनुभयो । क्लासिकल खुलामा गैरआवासीय नेपाली सङ्घका आशिष फुयाँलले स्वर्ण जितेका थिए । जितलगत्तै दाबी विरोध परेपछि आयोजकले औपचारिकरूपमा नतिजा पनि सार्वजनिक गरेको छैन । यसबारे राष्ट्रिय खेलकुद परिषद्ले अन्तिम निर्णय गर्ने बताइएको छ । 
पदक विजेताहरूलाई जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापालगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका धेरैजसो खेल पोखरामा भइरहेका छन् । आसपासका जिल्लामा केही विधामा खेल गर्ने राखेपको निर्णयअनुसार बुद्धिचाल प्रतियोगिता गोरखामा भएको हो । गोरखा क्याम्पसको हलमा असोज २७ गतेदेखि सुरु भएको प्रतियोगिता बुधवार सकिएको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया