गोरखा–२ : सय वर्षे उम्मेदवारसँग आशीर्वाद लिन घरमै पुग्नुभयाे ‘कान्छा उम्मेदवार’ अब्दुस मियाँ

 कात्तिक १४, २०७९ सोमबार १४:४५:३१ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस (वीपी) पार्टीका उम्मेदवार टीकादत्त पोखरेलले आज सोमवार सयौँ जन्मदिन मनाउनुभयो । परिवारका सदस्यसहित छरछिमेक र आफन्तको चाँजोपाँजोमा पोखरेलको पुर्ख्याैली घर सिरानचोक गाउँपालिका ४ छोप्राकको माझगाउँबेसीमा जन्मोत्सव कार्यक्रम गरिएको हो । घरआँगनमा बिहानैदेखि छरछिमेक र आफन्तको आउजाउ चलिरहेको थियो, पाहुनाका लागि खानपानको प्रबन्ध पनि मिलाइएको थियो । 

विसं १९८० कात्तिक १४ गते जन्मिनुभएका पोखरेल आफूलाई घरमै भेट्न पुगेका पाहुनाको स्वागतसँगै शुभकामना सन्देशसहित मोबाइलमा आएका टेलिफोन कुराकानीमा पनि व्यस्त हुनुहुन्थ्यो । छिनछिनको फुर्सदमा उहाँ आफ्नो राजनीतिक यात्रासँगै एक सय वर्षको उमेरमा पनि किन उम्मेदवार बन्नुपरेको हो भनेर बताइरहनुभएकाे थियो । २००४ सालमा सरकारी सेवाको जागिरबाट विद्रोह गरेर राणाशासनविरुद्धको राजनीतिमा लाग्नुभएका पोखरेल भन्दै हुनुहुन्थ्यो, ‘अहिलेको राजनीति हेर्दा र उति बेला किन राणाशासनको विरोध गरिएछ भने जस्तो पनि लाग्छ, अहिलेको ठूला पार्टीका ठूला भनिएका नेता र त्यति बेलाका राणाशासक उस्तै–उस्तै लाग्छ ।’ अहिले पनि जनताको हित हुने खालको राजनीतिक प्रणाली विकास भइनसकेको उहाँको भनाइ छ । 

तत्कालीन जनयुद्ध र आन्दोलनपछि पनि देशले उपलब्धि पाउन नसकेपछि सय वर्षको उमेरमा पनि आफूले उम्मेदवारी दिएको पोखरेलले बताउनुभयो । सय वर्षका पोखरेलले उम्मेदवारी दिएको क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा एमालेबाट २८ वर्षका युवा अब्दुस मियाँ पनि उम्मेदवार छन् । उम्मेदवारी दिएपछि अर्का प्रतिस्पर्धी प्रचण्डसँग भेटघाट र कुराकानी भएको छ त ? भन्ने प्रश्नमा पोखरेलले कड्किँदै भन्नुभयो, ‘म उनलाई भेट्न जान्नँ, उनी पो मलाई भेट्न आउनुपर्ने होइन र ?’ ।

नजिकै प्रचारप्रसार कार्यालय उद्घाटन गर्न पुग्नुभएका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने जन्मदिनको शुभकामना दिन भन्दै पोखरेलको घरमै पुग्नुभयाे । ढाकाको टोपी र मखमलको पछ्यौरा ओढाएर शुभकामना दिँदै मियाँले सञ्चो–बिसञ्चो सोध्नुभयाे र चुनावका लागि आशीर्वाद पनि माग्नुभयाे । ‘छोरा–नाती उमेरकाहरूसँग चुनाव लड्न त मलाई पनि रहर होइन’, मियाँलाई पोखरेलले भन्नुभयो, ‘नागरिकता देखाएर मात्रै पनि सिंहदरबार छिर्न पाउने व्यवस्था गर्ने खालकाे एजेन्डा हुनुपर्‍याे ।’ पोखरेलका एजेन्डाका विषयमा एमाले उम्मेदवार मियाँले तत्काल केही प्रतिक्रिया दिनुभएन तर जन्मदिन मनाइरहेका पोखरेलसँग चुनावी जितका लागि ‘आशीर्वाद’ लिएर फर्किनुभयाे । 

सञ्चारकर्मीसँग मियाँले भन्नुभयाे, ‘यत्तिको उमेरमा पनि देशको राजनीतिका विषयमा चासो लिने मात्रै होइन, त्यसलाई आफैँ सक्रिय भएर सुधार गर्छु भन्ने उहाँको हिम्मतले मलाई पनि प्रेरणा दिएको छ ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया