गोरखा अस्पतालका डाक्टर कुटपिट मुद्दालाई कमजोर बनाउन खोजिएको आरोप

 कात्तिक १४, २०७९ सोमबार १९:४२:४२ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा अस्पतालका डाक्टर कुटपिटको मुद्दालाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेपाल चिकित्सक सङ्घले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । सङ्घका केन्द्रीय उपाध्यक्ष डा. अनिल कार्कीसहितको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसँग भेटघाट गरी पीडितलाई न्यायको प्रत्याभूति हुने गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको हो । 

कार्यकक्षमै ढोका थुनेर डाक्टरलाई कुटपिट गरिएको घटनामा अभद्र व्यवहारको कमजोर मुद्दा चलाएर दोषीलाई उन्मुक्ति दिन खोजिएको आशङ्का बढेको डा. कार्कीले बताउनुभयो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (ग) मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिकरूपमा चोट पुर्‍याउन नहुने उल्लेख छ ।

‘घटनाको प्रकृतिअनुसार यही व्यवस्थाअनुसार कारबाही हुनुपर्ने थियो तर त्यही ऐनको कम सजाय हुने बुँदामा टेकेर मुद्दा अघि बढाइएको बुझिएको छ’, डा. कार्कीले भन्नुभयो । प्रहरीले ऐनको दफा ३ को उपदफा (च) मा भएको व्यवस्थाअनुसार मुद्दा चलाएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । 

त्यस बुँदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने उल्लेख छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (ग) मा भएको व्यवस्थाअनुसार मुद्दा अघि बढाउँदा तीन वर्षसम्म कैद, तीन लाखसम्म जरिबाना वा दुवै सजाय हुन्छ । तर प्रहरीले अहिले चलाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा भने एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । ‘स्वास्थ्यकर्मीको हकहितका लागि ठूलो सङ्घर्ष गरेर जारी गर्न लगाइएको ऐन कार्यान्वयनमा प्रहरी प्रशासनको इमानदारिता देखिएको पाइएन’, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. कार्कीले गुनासो गर्नुभयो । चिकित्सकलाई कार्यकक्षमै सुनियोजितरूपमा कुटपिट हुँदा पनि पीडितको घाउ जाँच नगरिएको उहाँको भनाइ छ । 

कुटपिट घटनामा पीडित डा. अविनाश पराजुलीले पनि दोषीलाई कारबाही नहुँदासम्म काम गर्ने मनोबल प्राप्त हुन नसक्ने बताउनुभयो ।

गएको कात्तिक ६ गते ओपीडी कक्षमा ड्युटीमा रहेका पराजुलीलाई तीन जना युवाले ढोका थुनेर कुटपिट गरेका थिए । कुटपिटमा संलग्न भएको आरोप लागेका गोरखा नगरपालिका वडा नम्वर ९ बस्ने २८ वर्षका समीर कुँवर, १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका वडा नम्बर ३ का २६ वर्षका प्रमोदजंग कुँवरलाई प्रहरीले गएको शनिवार पक्राउ गरेको छ । अस्पतालले दिएको निवेदनका आधारमा उनीहरूविरुद्ध कात्तिक ७ गते नै जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको मितिदेखि लागू हुने गरी सोमवार जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लीलाराज लामिछानेले बताउनुभयो । पक्राउ परेकाहरूसँग बयान लिने, घटनाका प्रत्यक्षदर्शीसँग कुराकानी गर्नेलगायत अनुसन्धानको काम चलिरहेकाले अहिले नै कस्तो प्रकृतिको मुद्दा दर्ता हुन्छ भन्न नसकिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया