गोरखा अस्पतालका डाक्टर कुटपिटको आरोपमा पक्राउ परेका ३ युवक धरौटीमा छुटे

 कात्तिक १८, २०७९ शुक्रबार १८:२३:५७ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गरेकाे आरोपमा पक्राउ परेका तीन युवक धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले उनीहरूलाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोडेको हो ।  

अस्पतालका डाक्टर अविनाश पराजुलीलाई ओपीडी कक्षमा बिरामी परीक्षण गरिरहेकै बेला कुटपिट गरेको भन्दै प्रहरीले गोरखा नगरपालिका ९ बस्ने २८ वर्षका समीर कुँवर, १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका ३ का २६ वर्षका प्रमोदजंग कुँवरलाई पक्राउ गरेको थियो ।

कात्तिक ६ गते दिउँसाे पराजुलीलाई हातपात गरी सम्पर्कविहीन भएका उनीहरूलाई गएकाे शनिवार पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (च) अनुसार मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो । त्यस बुँदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने उल्लेख छ । त्यस बुँदाअनुसार कसुर ठहर भएमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

अस्पतालका स्वास्थ्यकर्मीले भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (ग) मा भएको व्यवस्थाअनुसार मुद्दा दर्ता गरी अनुसन्धान गर्न माग गर्दै आएका थिए । त्यस बुँदामा तीन वर्षसम्म कैद, तीन लाखसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । 

प्रहरीले गएकाे बुधवार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (च) मा भएको व्यवस्थाअनुसार सजाय हुनुपर्ने मागदाबीसहित अभियोगपत्र दर्ता गरेको थियो । हिजाे बिहीवार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले उनीहरूलाई जनही डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गर्नुभएको हो । मुद्दाको फैसला हुन भने बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया