कुलमान घिसिङलाई  ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्ड

 असोज २१, २०७५ आइतबार १२:२९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित हुनुभएको छ । 

रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरेको हो ।

कम्पनीले ऊर्जा क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई कहालीलाग्दो लोडसेडिङबाट मुक्त गरेको भन्दै घिसिङलाई सम्मानित गरिएको जनाएको छ । 

दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । २०७५ सालको वैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

उनकै नेतृत्वमा आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आ व २०७३/७४मा  १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । आव ०७४/७५मा प्राधिकरणको नाफा १ अर्ब १ करोड रुपैयाँ आर्जन हुने प्रक्षेपण गरिएको छ । संचालन नाफा ७ अर्ब ८६  करोड रुपैयाँ रहेकाले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खूद वार्षिक नाफा अहिले प्रक्षेपितभन्दा अझै बढ्ने अनुमान गरिएको छ ।

घिसिङकै नेतृत्वमा गएको आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५.५ प्रतिशत र करिब १४.५ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा विद्युत चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत तथा प्रसारण लाइन आयोजनाका कामले पनि तीव्रता पाएको छ । 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया