नवलपरासीकाे दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

 माघ ८, २०७९ आइतबार १०:१३:३८ | रासस
unn.prixa.net

फाइल तस्बिर

नवलपरासी  - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

विद्युत् सबस्टेशन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधि अहिले निर्माणस्थलमा आइपुगेका छन् । दुम्कीबासमा निर्माण सुरु गर्न लागिएको विद्युत् सबस्टेशनका लागि छुट्याइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकले काम सुरु गरेको उहाँले बताउनुभयो । विद्युत् सबस्टेशनका लागि चार बिघा जग्गा विद्युत् प्राधिकरणको नाममा ल्याएर साइट  क्लियरको काम सकिएपछि थप काम अघि बढ्न लागेको अध्यक्ष गिरीले बताउनुभयो । 'निर्माण कम्पनीका प्रतिनिधि फिल्डमा आउनुभएको छ, जग्गाको थप प्रमाणीकरणको काम हुँदै छ, अब लगत्तै निर्माणको काम अघि बढ्छ', गाउँपालिका अध्यक्ष गिरीले भन्नुभयो ।

एक सय ३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सबस्टेशन निर्माणको काम सुरु भएको हो । एसियाली विकास बैंकको सात मिलियन अमेरिकी डलर सहयोगमा निर्माण गर्न लागिएको यस आयोजना अबको २२ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रसहित वरपर अहिले नवलपरासी पश्चिम बर्दघाटमा रहेकाे सबस्टेशनबाट विद्युतीकरण गरिएको छ । टाढाबाट ल्याइएको प्रसारण लाइनका कारण ठूलो समस्या झेल्नुपरेको अध्यक्ष गिरीले बताउनुभयो । लो भोल्टेजसहित बर्खाको समयमा दाउन्ने क्षेत्रमा विद्युत् पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकामा दुम्कीबासमा सबस्टेशन निर्माणपछि ती समस्या समाधान हुने उहाँले बताउनुभयो ।

'अहिले धेरै समस्या झेल्नुपरेको छ, तारमात्रै टाँगिएको छ,  लो भोल्टजको समस्या उस्तै छ, दाउन्ने क्षेत्रमा बर्खामा विद्युत् पोलमा क्षति हुँदा कति समय अन्धकारमा बस्नुपर्ने स्थिति छ, अब चाँडै ती समस्या समाधान हुनेछ', अध्यक्ष गिरीले भन्नुभयो। 

गाउँपालिकाभित्रका  वडा नं ३ र ५ मा अझै विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकाले पालिकाभित्र सबै क्षेत्रमा सहजरूपमा विद्युतीकरणका लागि यो आयोजनाले सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष गिरीले बताउनुभयो । यी वडाका कतिपय क्षेत्रमा सामुदायिक विद्युतीकरणसहित लघुजलविद्युत् आयोजनाबाट विद्युतीकरण गरिएको भए पनि समस्या धेरै रहेकाले ती समस्या समाधान गर्न यो आयोजनाले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

सबस्टेशन निर्माण पालिकाको भविष्यसँग समेत जोडिएको अध्यक्ष गिरीले बताउनुभयो । 'लो भोल्टेज हुँदा घरायासी उपभोक्तासहित भएका उद्योगले थप समस्या झेलिरहेका छन्, भारतीय सीमासँग जोडिएको पालिका भएकाले उद्योग आउन खोजिरहेका छन्, तर विद्युत् छैन, यसले धेरै पछि पारेको छ, बनेपछि औद्योगिकरणमा सहयोग त पुग्छ नै उज्यालो विनयी त्रिवेणी बनाउने हाम्रो योजना पनि सफल हुन्छ', अध्यक्ष गिरीले भन्नुभयो, 'यस कारण यो आयोजना पालिकाको भविष्यसँग जोडिएको छ ।'

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माणपछि मध्यबिन्दु नगरपालिका क्षेत्रमा समेत विद्युतीकरणमा थप सहजता हुने आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया