गाँजालाई औषधिको रूपमा प्रयोग गर्ने र घरेलु रक्सीलाई वैध बनाउनेबारे बहस हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

 जेठ ३, २०८० बुधबार १८:४९:६ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजालाई औषधिको रूपमा प्रयोग गर्ने र घरेलु रक्सीलाई वैध बनाउनेबारे बहस हुनुपर्ने बताउनुभएको छ । गृह जिल्ला गोरखामा बुधवार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले गाँजा र घरेलु रक्सीकाे नियमनसहित उत्पादन गर्न सके ग्रामीण नागरिककाे आर्थिक स्तरमा सुधार हुने बताउनुभयो ।

‘गाँजा लागुऔषध हो कि औषधि हो ? यसबारेमा बहस हुनुपर्‍याे भन्ने मलाई लाग्छ’, उहाँले भन्नुभयो, ‘यदि यो औषधि पनि हो भने नियमनकारी निकायहरू निर्माण गरेर यसलाई औषधिको रूपमा किन प्रयोग नगर्ने भनेर हामी सोचिराखेका छौँ ।’ यसबारे केही बहस चलेको र थप बहस चलोस् भन्ने गण्डकी प्रदेश सरकारको चाहना रहेको पनि मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

यस्तै स्थानीयस्तरमा उत्पादन हुने घरेलु रक्सीकाे पनि नियमनसहित उत्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘स्थानीय रूपमा घरघरमा रक्सी उत्पादन भइरहेका छन्, तर वैध छैन । यसलाई वैध गर्न सकियाे भने सानो उद्योगको रूपमा गाउँघरमा स्थापित हुन्छ र गुणस्तरमा पनि लैजान पनि सकिन्छ ।’

यस्तै मुख्यमन्त्री पाण्डेले प्रदेशका हरेक वडामा नागरिकले महसुस गर्ने गरी एक/एक वटा उदाहरणीय कार्यक्रम सञ्चालन गर्ने बताउनुभयाे । आफ्नो कार्यकालभरिमा प्रदेशका हरेक वडाका नागरिकले देख्ने गरी काम गर्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । गृह जिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले अरू जिल्लाभन्दा गोरखालाई बढी प्राप्त गर्ने हक रहेको पनि बताउनुभयो । आउँदाे बजेटबाटै कृषिलाई उत्पादनसँग जोड्ने खालका कार्यक्रम कार्यान्वयनमा जोड दिने पनि उहाँको भनाइ छ । 

कृषिका लागि आउँदाे वर्ष एक खर्ब रुपैयाँ छुट्याउने योजना रहेको बताउँदै पाण्डेले गाउँघरमै बसेर उत्पादनसँग जोडिएर जीविकोपार्जन गर्ने वातावरण बनाइने उल्लेख गर्नुभयाे । विगतमा पनि कृषिमा अनुदानहरू वितरण भएको तर त्यो उत्पादनसँग नजोडिएकाले त्यस्ता कार्यक्रमले प्रतिफल दिन नसकेको उहाँकाे भनाइ छ । जुन कामबाट उत्पादन हुने सुनिश्चितता छ, त्यस्तो कामलाई त्यही अनुपातमा अनुदान दिने पनि उहाँले बताउनुभयो । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको सुनिश्चितता प्रदेश सरकारले गर्ने मुख्यमन्त्री पाण्डेले आश्वासन दिनुभयाे ।नागरिकको चाहना र आकाङ्क्षा धेरै भए पनि सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै नतिजा निस्कने गरी काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया