विदेशमा बढ्दै नेपाली चलचित्रको बजार

 जेठ ६, २०८० शनिबार १४:३२:२१ | रासस
unn.prixa.net

काठमाण्डाै - पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । 

मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् । दर्शकले व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदी बताउँछन् । 

व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका चलचित्रभन्दा महँगो पर्ने उनको भनाइ थियो । 'बुक गरेर प्रदर्शन गर्दा ३० डलरसम्म पर्दछ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन भने आफूलाई पायक पर्ने समयमा दर्शकले हेर्न पाउछन्', उनले भने । उनले ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएको बताए । 

अष्ट्रेलियामा नियमित रूपमा चलचित्र ‘प्रसाद २’ प्रदर्शन भइरहेको छ । स्थानीय प्रदर्शक नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले नियमित सोमा नै दर्शक हेर्न आउने क्रम बढेको बताए । 'हामीले चलचित्र भवनलाई सहज बनाइदिएका हौँ । चलचित्र आफैँ ल्याएर सम्पूर्ण जिम्मेवारी लिएर प्रदर्शन गर्दा चलचित्र भवनको दायित्व नै देखिएन । अहिले विदेशी अन्य चलचित्र झैँ नेपाली चलचित्र पनि प्रदर्शन गर्न सुरु गरेका छौँ', उनले भने । 

कुनै समय विदेशमा चलचित्र प्रदर्शन गर्न निकै सङ्घर्ष गर्नुपरेको निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँले बताए । उनले रेस्टुराँ, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभव सुनाए । उनले निर्माण गरेकाे ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । 'खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम पनि उत्तिकै हुन्छ', उनले भने । 

विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा मिलेको निर्माता बानियाँले बताए । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

यस वर्ष दशैँ र तिहारसम्म प्रदर्शन घोषणा भएका केही नेपाली चलचित्रले नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि सँगै प्रदर्शन घोषणा गरेका छन् । प्रविधिले दिएको सहजतासँगै नेपाली चलचित्र व्यापार अन्तर्राष्ट्रिय बजारमा विस्तार भएमा नेपाली चलचित्रको सम्भावना बढ्दै जाने चलचित्रकर्मीको भनाइ छ ।

‘कबड्डी’ शृङ्खला, ‘जारी’ विदेशमा माग भएका चलचित्र हुन् । चलचित्र निर्माता मणिराम पोखरेलले चलचित्र भवनमै प्रदर्शन गराउन निर्माताले कडाइ गर्नुपर्ने बताए । उनले भने 'मेरो कम्पनीमार्फत् निर्माण भएका चलचित्रलाई चलचित्र भवनमै प्रदर्शन गर्ने सर्त राखेर विदेशको प्रदर्शन अधिकार बिक्री गर्ने गरेको छु । दर्शकलाई गुणस्तरीय चलचित्र देखाउने हाम्रो चाहना हो ।'  

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया