जलवायु परिवर्तनका कारण यस वर्ष विश्वभर थप ४१ दिन चरम गर्मी

 पुष १३, २०८१ शनिबार १२:१२:१८ | एजेन्सी
unn.prixa.net

मध्य एथेन्सको पुरातन एक्रोपोलिसमा पार्थेननको अगाडि छाता ओढेर हिँडिरहेका पर्यटकहरू । फाइल फाेटाे : एपी

जलवायु परिवर्तनका कारण यस वर्ष विश्वभर चरम गर्मीका दिन बढेका छन् । सन् २०२४ मा विश्वभर चरम गर्मीका दिनहरूको सङ्ख्या औसत ४१ दिनले बढेको वल्र्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए) र जलवायु केन्द्रका वैज्ञानिकहरूले बताएका हुन् । यति मात्र होइन, सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न गइरहेको छ ।

सन् २०२४ मा जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूले विश्वभर तीन हजार सात सय जनाभन्दा धेरै मानिसको ज्यान गएको र लाखौं विस्थापित भएका प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनले चरम मौसमी घटनाहरूलाई यस वर्षको धेरैजसो समयका लागि थप गम्भीर बनाएको वैज्ञानिकहरूले बताएका छन् ।

डब्ल्यूडब्ल्यूएका प्रमुख जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले जलवायु परिवर्तनले गर्मीको लहर, खडेरी, आँधी र भारी वर्षाको तीव्रता र आवृत्ति बढाएको बताउनुभयो । जसका कारण लाखौं मानिसको जनजीवन प्रभावित भएको छ । जीवाश्म इन्धनको प्रयोगमा कमी नआए यो समस्या झन् गम्भीर हुने उहाँले चेतावनी दिनुभएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले सन् २०२४ मा बाढी, आँधी र खडेरी जस्ता २९ चरम मौसमी घटनामध्ये २६ वटालाई थप गम्भीर बनाएको छ ।

यस वर्ष पृथ्वीले अहिलेसम्मकै सबैभन्दा तातो दिन र लगातार १३ महिना तातो मौसम रेकर्ड गरेको छ । यस्तै विशेषगरी गरिब र कम विकसित देशहरूमा एक सय ५० दिनभन्दा धेरै चरम गर्मी रेकर्ड भएको छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया