राष्ट्रपतिद्वारा नवदुर्गा देवगणलाई दोब्बर दक्षिणा (फोटो फिचर)

 कात्तिक ७, २०७५ बुधबार १९:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा दुर्गा भवानीको पूजा–अर्चना गर्नु भएको छ । 

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले बुधबार अपराह्न ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरेर प्रसाद ग्रहण गर्नुभएको हो । 

नवदुर्गाका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद प्रदान गर्नुभयो भने अर्का पुजारी ईन्द्रबहादुर वनमालाले उहाँलाई नवदुर्गाको प्रसाद फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो । 

त्यसक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गाका पुजारी, नाईके र देवगणहरुलाई जनही रु. १००५ का  दरले दक्षिणा प्रदान गर्नुभयो । 

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा प्रतिनिधि सभाका सांसद महेश बस्नेत, प्रदेश सभाका सदस्यद्धय शशीजंग थापा, डा. राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख तथा सरकारी कार्यालयको कर्मचारी लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

यसअघि ५०५ रुपैयाँ दक्षिणा प्रदान गरिँदै आएकोमा यस वर्ष भने दक्षिणा दोब्बर पाएको देवगणहरुले बताएका छन् । नवदुर्गा जात्रा संचालनका लागि वर्षको करिब १० लाख रुपैयाँ खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै संकटमा परेको देवगणले गुनासो गरेका छन् ।

देवगणहरुले नवदुर्गा जात्रा र पर्व चलाउन आर्थिक समस्या भएको र देवगणको अवस्था पनि कमजोर हुँदै गएकाले सरकारले उचित रकमको व्यवस्था गर्न राष्ट्रपतिसमक्ष माग गरेका थिए । 

राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गर्नुभएको थियो । उहाँले तलेजुका समस्याका बारेमासमेत जानकारी गराउनु भएको थियो । 

राष्ट्रपतिले देवगणलाई अब आर्थिक समस्या बोकेर राष्ट्रपतिसम्म आउनु नपर्ने बताउँदै तीन तहको सरकार भएकोले समस्याको समाधान स्थानीय सरकारबाट हुनसक्ने बताउनु भएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिनुभयो । 

राष्ट्रपतिले सांसद महेश बस्नेतलाई समस्या बुझ्न र समाधान खोजिदिन आग्रह गरेको र प्रदेश तथा स्थानीय सरकार एवं प्रमुख जिल्ला अधिकारीमार्फत समस्याको समाधान गर्न सकिने सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो ।  

राष्ट्रपति भण्डारीलाई दृष्टिविहीन ध्वंसि शाक्य र कृष्णराम चित्रकारले तयार पारेको राष्ट्रपतिको  तस्बिर प्रदान गर्नुभएको थियो । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया