सुनचाँदीका सिक्का किन्नेको लाइन

 कात्तिक २१, २०८० मंगलबार ११:५४:२६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

भक्तपुर थिमीकी रोशनी दले टक्सार महाशाखा बबरमहलमा बिहानदेखि सुनको सिक्का किन्ने लाइनमा बसिरहनु भएको छ । झण्डै एक/डेढ घण्टापछि उहाँको पालो आयो । उहाँले सुनको ५ ग्राम र २ दशमलव ५ ग्रामको एउटा/एउटा सिक्का किन्नुभयो ।

लाइन व्यवस्थित नभएको उहाँको गुनासो छ । ‘बीचबाट कोही आउनु भएन मिलाएर पठाइरहनु भएको थियो । टोकन सिस्टम गरिदिएको भए राम्रो हुन्थ्यो । सजिलो हुन्थ्यो । पहिलेदेखिको यो सिस्टम अहिले पनि यस्तै रहेछ’ उहाँले भन्नुभयो ।

सुनको पाँच ग्रामकोे ५१ हजार र चाँदीको १० ग्रामको १६ सय रुपैयाँ गरी उहाँले ५२ हजार ६ सय रुपैयाँको सिक्का किन्नुभयो । उहाँले सुन र चाँदीका यी सिक्का तिहारमा लक्ष्मीपूजाका लागि भनेर किन्नु भएको हो । 

देशमा आर्थिक मन्दी छ । व्यापार, व्यवसाय छैन भनेर व्यापारीको गुनासो सुनिन्छ । उद्योग, कलकारखाना चलेको छैन । तर, टक्सार महाशाखाको लाइन हेर्दा यो कुरा होइन कि जस्तो लाग्छ । महाशाखामा चाँदीको सिक्का किन्नेको भन्दा सुनको सिक्का किन्नेको भिड धेरै छ । डेढ/दुई घण्टा लाइन बसेपछि बल्ल पालो आउँछ ।

मन्दी रहेको कुरा स्वयं रोशनी दले पनि स्वीकार्नुहुन्छ । ‘इकोनोमिक क्राइसिस सबै ठाउँमा छ । तर, पनि हामी नेपालीहरुको महान चाड तिहारको बेलामा किन्नुपर्छ जस्तो सबैलाई लाग्छ । जसोतसो गरेर सबैजनाले जोडजाड गर्नुहुन्छ जस्तो लाग्छ । सुन नै नभए पनि चाँदी किनौँ भन्ने हिसाबले जम्मा गर्नुभएको हुनसक्छ,’ उहाँ भन्नुहुन्छ, ‘चाँदीभन्दा पनि मान्छेको क्रेज सुनमै छ ।’

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गत टक्सार महाशाखाले गएको आइतवारदेखि सुनको असर्फी तथा चाँदीको सिक्का वितरण शुरु गरेको छ । तिहारको धनतेरसका लागि भनेर निकालेको सिक्का आउँदो शुक्रवारसम्म महाशाखाले वितरण गर्ने जनाएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिकाकी पवित्रा पण्डित पनि सुन तथा चाँदीको सिक्का लिन टक्सार महाशाखामा लाइन बसिरहनु भएको छ । उहाँले चाँदीको सिक्का भने लिइसक्नु भएको छ । सुनको सिक्का लिनेको लाइन लामो भएकोले उहाँको पालो आएको छैन । उहाँले चाँदीको १० ग्रामका १० वटा सिक्का लिनुभयो । जसको मूल्य १६ हजार रुपैयाँ पर्यो । उहाँले यो सिक्का तिहारमा लक्ष्मीपूजा गर्नको लागि लिनु भएको हो ।

‘अहिले देशको अवस्था यस्तो छ । आर्थिक मन्दी छ । राष्ट्र बैंकले पनि यसरी सिक्का निकालेर बाँडेको छ । मन्दी लागेर मान्छेलाई बाँच्नै मुश्किल परिरहेको छ,’ उहाँ भन्नुहुन्छ, ‘एउटाले एउटा मात्र लिए हुनेमा दशौँ वटासम्म लिएको छ । यो राम्रो त होइन । तर, आफू पनि यसकै पछाडि कुदिएको छ ।’

राष्ट्र बैंकले अहिले चाँदीको गाई छाप भएको २५ ग्राम र १० ग्रामको सिक्का निकालेको छ । त्यस्तै, चाँदीकै १० ग्रामको लक्ष्मी, गणेश र गजलक्ष्मीको सिक्का पनि तिहारको धनतेरसको दिनलाई भनेर लक्षित गरेर निकालेको छ ।

२५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार रुपैयाँ पर्छ भने अरु १० ग्रामको चाँदीको सिक्काको भने १६ सय रुपैयाँ पर्छ ।

काठमाण्डौ स्वयम्भूका राज महर्जन पनि सुनचाँदीको सिक्का लिन टक्सार महाशाखाको लाइनमा बसिरहनु भएको छ । उहाँले सुनको एक सेट अर्थात १०, ५ र २ दशमलव ५ ग्रामको सुनको सिक्का र चाँदीको एक सेट अर्थात् २५ ग्रामको एउटा र १० ग्रामको चारवटा सिक्का लिनुभयो । सबैको गरेर उहाँले एक लाख ८८ रुपैयाँको सिक्का किन्नुभयो ।

उहाँले यो सबै सिक्का तिहारमा लक्ष्मीपूजाको दिनमा पूजा गर्नका लागि लिनु भएको हो ।

देशमा आर्थिक मन्दी रहे पनि यसरी सिक्का किनेर पूजा गर्नु परम्परादेखि चलि आएका कारण उहाँलाई यो ठिकै लागेको छ । उहाँ भन्नुहुन्छ, ‘हामीले यो परम्परादेखि पूजा गर्नुपर्ने हिसाबले यो मलाई भने ठिकै लाग्छ । हामी बर्सेनि आउँदैनौँ । कमाएर, जम्मा गरेर राखेको रकम हुन्छ त्यसैको किन्ने हो ।’

काठमाण्डौ पकनाजोलका अखिल अख्तरले पनि एक सेट सुनको असर्फी लिनुभयोे । एक सेटमा १०, ५ र २ दशमलव ५ ग्रामको सुनको असर्फी हुन्छ । उहाँले हिजो सोमवारको बजार मूल्य अनुसार एक लाख ७८ हजार पाँच सय रुपैयाँ तिर्नुभयो । उहाँ लक्ष्मीपूजाका लागि नभइ जम्मा गरेको पैसाको सुन जोडौँ भनेर किन्न आउनु भएको हो ।

‘अरुहरुले पूजाका लागि लिन्छन् । तर हामी मुस्लिम भएका कारण पूजाका लागि नभएर कहिलेकाहीँ आपत्-विपत् पर्छ भनेर व्यक्तिगत जम्माको लागि किनेको हो । यो लगेर थन्क्याउने भए पनि आपत्-विपत् पर्दा काम लाग्छ,’ उहाँ भन्नुहुन्छ, ‘यो राष्ट्र बैंकले दिने भएको हुँदा यसको शुद्धता ९९ दशमलव ९ प्रतिशत हुन्छ । बाहिर त्यस्तो हुँदैन । बजारमा चाँदी, तामा मिसिएकै हुन्छ । यो शुद्ध सुन भएर लिन खोजेको हो ।’

टक्सार महाशाखाले बिक्री गर्ने चाँदीको सिक्काको मूल्य पहिले नै तोकेको भए पनि सुनको असर्फीको मूल्य भने हरेक दिनको बजार भाउ अनुसार हुने गर्छ ।

टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्य धार्मिक र परम्परागत मूल्य मान्यताका लागि राष्ट्र बैंकले सिक्का तथा असर्फी निकाल्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार धनतेरसको बेलामा सुनचाँदी घरमा भित्र्यायो भने वर्षभरी नै लक्ष्मीले घरमा बास गर्ने भन्ने अवधारणाका कारण राष्ट्र बैंकले विशेषगरी तिहारको धनतेरसलाई लक्षित गरी सुनको असर्फी र चाँदीको सिक्का निकाल्ने गर्छ ।

राष्ट्र बैंकले ५० भन्दा बढी प्रकारका सिक्का निकाले पनि अहिले तिहार भएका कारण गाई अंकित चाँदीको सिक्का २५ ग्राम र १० ग्राम तथा लक्ष्मी, गणेश र गजलक्ष्मीको १०/१० ग्रामको चाँदीको सिक्का निकालेको छ । २५ ग्रामको मूल्य चार हजार रुपैयाँ रहेको छ भने १० ग्रामको मूल्य एक हजार छ सय रुपैयाँ रहेको छ ।

उहाँ भन्नुहुन्छ, ‘विभिन्न ५० भन्दा बढी प्रकारका सिक्का निकाले पनि अहिले तिहार भएका कारण हामीले सुनको असर्फी तथा चाँदीका सिक्का मात्र निकाल्छौँ । अरु सिक्काहरु निकाल्दैनौँ । सर्वसाधारणलाई लक्षित गरेर र उहाँहरुले यो सबै प्राप्त गर्न सकुन भनेर हामीले यसमा मात्र लक्षित भएका हौँ ।’

राष्ट्र बैंकले बिक्री वितरण गर्ने सुनको असर्फी तथा चाँदीको सिक्का ९९ दशमलव ९ प्रतिशत शुद्ध हुने हुँदा आमनागरिकको भिड लाग्ने गरेको आचार्यको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘टक्सार स्थापना भइसकेपछि हरेक वर्ष जनमानसको मनशाय अनुसार सिक्का निकाल्ने काम गरिएका कारण यसमा नाफाघाटा भन्दा पनि केही सेवा शुल्क त जोडिएको हुन्छ । तर, शुद्धता र तिहारको धार्मिक महत्त्व अनि विश्वासका कारण टक्सारमा भिड लाग्ने गर्छ ।’

धर्मिक, परम्परागत र साँस्कृतिक महत्त्व आफ्नै ठाउँमा छ । तर, देशमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भइरहेका समयमा आफूसँग भइरहेको केही रकम यसरी सुन चाँदी किनेर थन्क्याउँदा अर्थतन्त्र चलायमान हुन भने केही भए पनि समस्या पर्ने देखिन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया