राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठी माताकाे पूजा

 मंसिर ३, २०८० आइतबार १८:२४:४८ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गर्नुभएको छ । छठपर्वको उपलक्ष्यमा आज आइतवार साँझ उहाँले कमलपोखरीको छठ पूजास्थलमा छठी माताको पूजा गर्नुभएको हो । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजाअर्चना गर्नुभयो ।

काठमाण्डाै उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत ठाउँमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना भइरहेको छ ।

काठमाण्डाै महानगरपालिकाद्वारा आयोजित छठ पूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठी माताको पूजा गर्नुभएको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार दीपेन्द्र झाले जानकारी दिनुभयो ।

छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुग्नुभएको थियो ।

भोलि सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । ललितपुरको कुपण्डोललगायत क्षेत्रमा पनि छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा दुःखकष्ट हटेर जाने जनविश्वास छ ।

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वको उपलक्ष्यमा जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सखरकाे खिर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया