सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेशन सञ्चालनमा आयाे

 मंसिर ११, २०८० सोमबार १३:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेशन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहदेखि २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेशन हिजाे आइतवार चार्ज गरी सञ्चालनमा ल्याएको हाे । आयोजनाअन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेशन गएकाे वर्षको साउनदेखि नै सञ्चालित छन् । सबस्टेशनहरू निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५ असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएकाे थियाे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको बताउनुभयो ।

‘प्रसारण लाइन र सबस्टेशन तयार भयो तर जलविद्युत् आयोजनाहरू निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउन पर्ने अवस्था छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उत्पादित बिजुली इनरुवा सबस्टेशनमार्फत मोरङ र सुनसरी जिल्लामा आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा बिजुली आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई बिजुली आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’

वसन्तपुर सबस्टेशनमा तुम्लिङटार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेशनबाट बिजुली आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेकाे इनरुवा सबस्टेशनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।

वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङटारसम्म झन्डै ३० किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ १ सय ५ किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने अहिले सिङ्गल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेशन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेशनमा जोडिने छ । काेशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो ।

कोशी करिडोरअन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड प्रसारण लाइन र ढुङ्गेसाँघुमा १३२ केभी सबस्टेशन निर्माणाधीन छन् । झन्डै ३४ किलोमिटर डबल सर्किट प्रसारण लाइनमा पर्ने १ सय २८ वटा टावरमध्ये ६ वटाको मात्र निर्माण बाँकी छ । एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारण लाइन आउँदाे माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको याे काम आउँदाे फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ढुङ्गेसाँघु सबस्टेशनको निर्माण ९५ प्रतिशत सकिएको छ । याे प्रसारण लाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३/७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजना जोडिने छन् ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारतकाे एक्जिम बैंकले दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म झन्डै १ हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म झन्डै १ हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म झन्डै २ हजार मेगावाट बिजुली प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको अहिलेसम्मको सबैभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया