जापान : भूकम्प गएको ५ दिनपछि ९ दशक पार गरेकी वृद्धाको उद्धार

 पुस २२, २०८० आइतबार १४:५४:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानमा भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी वृद्धालाई हिजाे शनिवार उद्धार गरिएको छ ।

विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिवार उद्धार गरिएको छ ।

उहाँलाई उपचारका लागि अस्पताल लगिएको र अस्पतालमा लानुअघि उहाँले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।

टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् ।

जापानमा जनवरी १ मा गएको ७ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प र त्यसपछिका परकम्पनमा परि कम्तीमा एक सय २६ जनाको ज्यान गएकाे र दुई सय २२ जना हराइरहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए ।

सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम वर्षा र आँधीबेहरीका कारण आइतवार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ ।

अनुमानित एक हजार पहिरोमध्ये केहीले सडकलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया