भारतले दुई दशकमा साढे १९ करोड भन्दा धेरै रोजगारी थप्यो
कात्तिक १७, २०८१ शनिबार
लमजुङ – माटो र फूलसँगै खेल्दै जिन्दगी व्यतित गर्न पाउँदा औधी खुशी हुनुहुन्छ, हुमा गुरुङ । घाम उदाएदेखि अस्ताएसम्म उहाँको प्रायः समय फूलबारी र पुष्प नर्सरीमै बित्ने गर्छ । यसरी माटो र माटोमै फुलेका फूलसँगै रम्न पाउँदा बेसीशहर–२, बोहोराबेसीकी हुमालाई सारा दुःख, पीडा भुलेको महसुस हुन्छ ।
‘फूलको हेरचाहमै दिन बित्छ । बिहान उठेदेखि नै फूलमा सिंचाइ गर्याे । गोडमेल गर्याे । समय बितेको पत्तै हुँदैन । माटो र फूलसँग खेल्न पाउँदा निकै खुशी मिल्छ । तनाव हट्छ’, हुमाले आफ्नो दैनिकी एक सासमा सुनाउनुभयो ।
फूलबारी र नर्सरी नजिकै उहाँले ४ कोठाको एउटा चिटिक्क परेको सानो घर पनि बनाउनुभएको छ । उहाँ त्यही घरमा बस्दै आउनुभएको छ । घर, शौचालय वरिपरि पनि गमलामा विभिन्न जातका फूलहरु रोपिएका, फुलेका देख्न सकिन्छ । दैला अगाडि ढकमक्क फुलेका फूलले उहाँको घरको शोभा बढाएको छ ।
१० लाख लगानीमा फूल खेती सुरु
हुमाले आफैले कमाएको केही रकम र ऋणाधन गरी बोहोराबेसीमा जग्गा किन्नुभयो । विगतमा जग्गामा मौसमअनुसारका खेती लगाइन्थ्यो । खेतीलाई चटक्कै छाडेर उहाँले आफ्नै १० लाखको लगानीमा पुष्प व्यवसाय सुरु गर्नुभयो । र जिल्लामै पहिलो पुष्प व्यवसायीको परिचय बनाउन सफल हुनुभयो ।
‘१० लाख ऋण गरेरै पुष्प व्यवसायमा हात हालेकी हूँ । २०७१ सालदेखि म यस व्यवसायमा छु । मैले व्यवसाय चलाउन बाबाआमासँग एक पैसा पनि मागिनँ’, ३८ वर्षे हुमाले भन्नुभयो ।
जागिर छोडेर फूल खेतीमा
हुमाले व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाई पूरा गर्नुभएको छ । लामो समयसम्म एक गैरसरकारी संस्थामा काम गर्नुभएकी उहाँलाई ‘आफ्नै लगानीमा केही उद्यम गर्नुपर्छ’ भन्ने भावनाले मनमा डेरा जमाउन थाल्यो ।
त्यसपछि, उहाँले जागिर छोडेर विगतमा बोहोराबेसीमा किनेको जग्गामा पुष्प व्यवसाय गर्ने आँट गर्नुभएको हो ।
‘पुष्प व्यवसायसम्बन्धी खासै जानकारी त थिएन । तर जिल्लामा कसैले पुष्प व्यवसाय नगरेकाले केही नयाँ गरौँ न त भनेर यस व्यवसायलाई अँगालेको हूँ’, विगतलाई स्मरण गर्दै हुमाले भन्नुभयो ।
हुमाले साढे चार रोपनी जग्गामा पुष्प व्यवसाय सञ्चालन गर्नुभएको छ । हुमाले दुई रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गर्नुभएको छ । साढे दुई रोपनी जग्गामा विभिन्न जातका फूल लगाउनुभएको छ ।
मासिक २ लाख आम्दानी
तीन महिनामा नै फुल्ने सयपत्रीका बिरुवा बिक्रीबाट मात्रै हुमाले यसवर्ष ७ लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । फूलको बीउ भने थाइल्यान्डबाट ल्याइएको उहाँले बताउनुभयो । आफ्नो फूलबारी, नर्सरीमा उत्पादन भएको फूल, बिरुवाले बजार पाउँदा उहाँ खुशी हुनुहुन्छ ।
‘जोसजाँगरका साथ आवश्यक ज्ञान, सीप आर्जन गरी फूल खेती गर्न सके राम्रो कमाउन सकिन्छ । मैले यसै व्यवसायबाट मासिक २ लाख कमाउँछु’, राम्रो तलवबो जागिर छोडेर पुष्प व्यवसायमा लाग्नुभएकी हुमाले हौसिँदै भन्नुभयो ।
उहाँले दुईवटा ग्रीनहाउस निर्माण गर्नुभएको छ । ग्रीन हाउसमा सयपत्री, बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनवेलिया, गुलाव, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रीलगायतका फूलका बिरुवा उत्पादन भइरहेका छन् । राम्रो मूल्यमा धमाधम बिक्री भइरहेको छ ।
उहाँका अनुसार ग्रीन हाउसमा हाईव्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोगार्ड, सुन्तला, मुन्तला का बिरुवा पनि छन् । नर्सरीमै उत्पादित एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार जातका फूलका बिरुवा पनि बिक्री भइरहेको छ । ‘फूलमा भन्दा फूलका बिरुवा बेच्न फाइदा हुन्छ’, उहाँले सुनाउनुभयो ।
फूल खेतीमा जोखिम
फूल खेतीबाट राम्रो आम्दानी गर्न सकिए पनि यसमा अलि जोखिम हुने उहाँको अनुभव छ । ‘फूल खेतीलाई बढी हेरचाह चाहिन्छ । समय मिलाएर फूल रोप्नपुर्छ । रोग किराले सतायो भने त बर्बादै हुन्छ’, उहाँले भन्नुभयो ।
फूल खेतीमा बढी खतरा हुने भएकाले किसानले सही समयमा सही जातको बिरुवा रोप्नुपर्ने उहाँले सुझाउनुभयो । उहाँका अनुसार फूलको बीउ निकै महँगो हुन्छ । सहज रुपमा पाइँदैन । नर्सरीमा बिरुवा तयार गर्न पनि निकै सकस हुन्छ ।
राज्यको सहयोग आवश्यक
हुमाको बारीमा उत्पादित फूल र नर्सरीमा उत्पादित बिरुवा लमजुङ, गोर्खा, तनहुँ, चितवन काठमाडौँ लगायतका शहरमा पुग्ने गरेका छन् ।
किसानका लागि सरकारी सहयोग निकै कम रहेको उहाँले बताउनुभयो । किसानहरुलाई कृषिसम्बन्धी विभिन्न तालिमहरु पनि दिनु आवश्यक रहेको उहाँको कथन छ ।
‘कृषि क्षेत्रको विकासको लाग राज्यले अझै थप सहयोग गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘कृषि व्यवसायमा रमाउन सकेँ मनमा पनि आनन्द हुन्छ । गोजीमा पैसा टुट्दैन । स्वदेशमै बसेर जीवन गुजार्न सकिन्छ । फूल खेतीलाई नै निरन्तरता दिन्छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।