जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्यो

 फागुन ३, २०८० बिहिबार १८:५:८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । सरकारी तथ्याङ्कअनुसार जापानको अर्थतन्त्र आर्थिक मन्दीतर्फ धकेलिँदा जर्मनीले उछिनेको हो । अब जापान चौथो स्थानमा आइपुगेको छ ।

सन् २०२३ मा जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) डलरमा ४ दशमलव २ ट्रिलियन र जर्मनीको जीडीपी ४ दशमलव ५ ट्रिलियन थियो । जापानको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार देशको अर्थतन्त्र अक्टोबर र डिसेम्बरबीचको तीन महिनामा शून्य दशमलव चार प्रतिशतले सङ्कुचित भएको थियो । सन् २०२२ को तुलनामा जीडीपी एक दशमलव नौ प्रतिशतले बढे पनि जर्मनीलाई उछिन्न सकेन ।

यो तथ्याङ्कले जापानी अर्थव्यवस्थाले कसरी आफ्नो प्रतिस्पर्धात्मकता र उत्पादकता गुमाइरहेको छ भन्ने देखाउने विश्लेषकहरूले बताएका छन् ।

जापानको जनसङ्ख्या लगातार घटिरहेको छ । जापानमा बालबालिका कम जन्मँदै छन् र जनसङ्ख्या औसत उमेर पनि बढ्दै गएको छ । यसको असर देशको अर्थतन्त्रमा देखिएको हो । डलरको तुलनामा जापानी मुद्रा येन लगातार कमजोर भइरहेको छ । यसले पनि अर्थतन्त्रमा असर पुगेको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यसअघि नै जापानको अर्थतन्त्र खस्किने अनुमान गरेको थियो ।

सन् २०१० अघिसम्म जापान अमेरिकापछिको दोस्रो ठूलो अर्थव्यवस्था भएको देश थियो । सन् २०१० मा चीनको अर्थव्यवस्थाले उछिनेपछि जापान तेस्रो स्थानमा झरेको थियो ।

टोक्यो विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर तेत्सुजी ओकाजाकी जापानको जीडीपीको नयाँ तथ्याङ्कले देशको वास्तविकता देखाउने र परिणामस्वरूप विश्वमा जापानको उपस्थिति कम हुने सम्भावना बढेको बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया