जथाभाबी फोहोर फाल्दा लुम्बिनीकाे बजार क्षेत्र र बस्ती छेउमा सही नसक्नु दुर्गन्ध

 फागुन ११, २०८० शुक्रबार १५:२१:१० | रासस
unn.prixa.net

रुपन्देही – बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहोरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभाबी फालिएका फोहोरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक प्रभाव परेको छ । सडेगलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरूपमा काम नलाग्ने अन्य वस्तुहरू जताततै अव्यवस्थितरूपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण र सौन्दर्यमा असर परेको छ ।

बुद्ध दर्शनका लागि लुम्बिनी पुगेका भारतीय पर्यटक सञ्जय कुमारले लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैँचा र मुख्य प्रवेशद्वारमा फोहोरको दुर्गन्ध सही नसक्नु भएको बताउनुभयो ।

लुम्बिनीलाई सफा र स्वच्छ राख्न स्थानीयवासीसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, विश्व वन्यजन्तु कोष, युनेस्को, एडीबी र विश्व बैंकलगायतका सङ्घ–संस्था लामो समयदेखि कार्यरत रहे पनि फोहोरको ब्यवस्थापन हुन सकेको छैन ।

अहिले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहोर फ्याँकिएका छन् । फोहोर नपुरेकाले दुर्गन्ध फैलिएको छ । फोहोर सङ्कलनमा मात्रै केन्द्रित हुँदा लुम्बिनीमा फोहोरको विर्सजन चुनौतीपूर्ण बनेको बताउनुहुन्छ वातावरणका जानकार डाक्टर सतीश उपाध्याय ।

नगरपालिकाले पाँच जना सफाइकर्मीबाट दैनिक सरसफाइको काम गरिरहेको र ‘ग्रीन लुम्बिनी, क्लिन लुम्बिनी’ भन्ने अभियान लिएर प्रत्येक सोमवारलाई ‘ग्रीन डे, क्लिन डे’ का रूपमा सरसफाइ अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाको सरसफाइ शाखाका अनुसार लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहोर उत्पादन हुने गरेको छ । त्यहाँ ८० भन्दा बढी होटेल तथा रेस्टुरेन्ट, एक हजारभन्दा बढी थोक तथा खुद्रा पसल र बर्सेनि १० लाख पर्यटकका चापका कारण फोहोर व्यवस्थापनमा समस्या नगरपालिकाको भनाइ छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माण गर्ने सम्झौता भएको छ । यो परियोजना सम्पन्न गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले पहिलो चरणमा दुई करोड रुपैयाँ छुट्याएको छ । वडा नम्बर ५ मा निर्माणाधीन अध्ययन केन्द्रमा कुहिने र नहुकिने फोहर छुट्याएर व्यवस्थापन गर्ने नगरपालिकाको योजना छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया