कालीगण्डकीको बाढी जोगाउन नदी नियन्त्रण योजना

 फागुन २६, २०८० शनिबार १२:२१:३४ | रासस
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो ।

आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । झण्डै  ७४ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पर्खालको जगतर्फ तीन मिटर अग्लो पक्की र सतहमा चार मिटर अग्लो पर्खाल निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाइभर्सन गरेर अस्थायीरुपमा पर्वतको लामाखेत तर्फबाट बगाइएको छ । सत्र परिवारको बसोबास रहेको आनन्दबगरमा सयौँ रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा थियो । 

परियोजनाले बेनी बजार र त्यस आसपासका बस्तीमा कटान नियन्त्रणका लागि आठ ठाउँमा  ५० करोड रुपैयाँको लागतमा संरक्षणको काम गरिरहेको छ ।

बेनी बजार, गलेश्वर क्षेत्र, राम मन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इञ्जिनियर कृष्णबहादुर विश्वकर्माले बताउनुभयो । बेनीलाई सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया