उत्पादनले बजार नपाउँदा सामानले काेठा भरियाे, ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता

 फागुन २६, २०८० शनिबार १५:४६:३२ | रासस
unn.prixa.net

बाग्लुङ — तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना महिला मिलेर ढाका उद्योग सञ्चालन गर्दै आएका छन् । उद्योग खोलेर निरन्तर ढाका बुन्न थालेका महिला यतिबेला आफ्नो उत्पादनले बजार नपाउँदा निराश छन् । उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्ने गरेको उद्यमी महिला बताउँछन् ।

२०७५ सालमा सङ्गम परामर्श केन्द्र बाग्लुङले १५ दिने प्रशिक्षण दिएपछि उद्योग सञ्चालन गरिएको हो । ४५ हजारको लगानीमा शुरु गरिएको उद्योगबाट अहिले झन्डै सात लाख रुपैयाँको सामग्री तयार भएका छन् । आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताउनुभयो । उद्योगबाट ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।

बिहान, बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको तर उत्पादनले बजार नपाउँदा दुःख लाग्ने गरेको घर्ती बताउनुहुन्छ । उद्योगमा एक जनाले महिनाको ३५/४० हजारको सामग्री तयार गर्ने गरेका छन् । तर बिक्री नहुँदा एक हजार रुपैयाँ कमाउन पनि मुस्किल पर्ने गरेको गुनासो छ ।

समूहमा काम गर्दै आएकी जुनुमाया घर्ती मगरले समयसमयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोत्साहन गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको बताउनुभयो । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले महिला उद्यमीलाई उपकरणलगायत अन्य सहयोग गर्दै आएको र अबका दिनमा बजारीकरणका लागि पहल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया