चितवन मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालन

 फागुन २७, २०८० आइतबार १२:२३:८ | रासस
unn.prixa.net

काठमाण्डौ – चितवनमा मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गएको माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । यसअघि बिक्री नभएका अर्थात् गोदाममा रहेका दुग्धजन्य पदार्थ सम्बन्धित संस्थाले लैजाने गरी सहमति भएको छ ।

आजदेखि उद्योग सरसफाइ गरेर सञ्चालन गर्ने तयारीमा रहेको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताउनुभयो । बीस हजार लिटर दूध पनि आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्छ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको उहाँले जानकारी दिनुभयो ।

डेरी एसाेसिएसन, सहकारी, निजी डेरी, फार्महरूलाई उद्योगले यसअघि पत्र पठाएर आजदेखि उद्योग सञ्चालन हुने जानकारीसमेत गराएको थियो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फार्महरूको दूध भाँडामा प्रशोधन गर्दै आएको छ ।

पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएसँगै राख्ने ठाउँको अभावमा उद्योग बन्द भएको थियो । प्रबन्धक पराजुलीका अनुसार ७५ करोड रुपैयाँभन्दा धेरैको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ ।

५ सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा ३ सय र ५०–५० टनका तीनवटा चिस्यान केन्द्र तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएको छ । २०६४ सालमा स्थापना गरिएको उद्योग २०७२ सालमा भूकम्पपछि बन्द भएको थियो ।

२०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको १ सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया