चियाबारी मासेर इलामका किसानले थाले किवी खेती

 चैत ३, २०८० शनिबार १८:२०:९ | रासस
unn.prixa.net

रासस

इलाम — किवी खेतीमा किसानको आकर्षण बढेपछि किवी उत्पादन बढेकोे कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ३२ दशमलव पाँच प्रतिशतले किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा तीन हजार सात सय ७८ मेट्रिक टन किवी उत्पादन भएको छ । यस वर्ष आठ सय ९० हेक्टर क्षेत्रमा किवी खेती गरिएको छ । अघिल्लो आर्थिक वर्ष  ०७९/८० मा सात सय ८० हेक्टर क्षेत्रमा किवी खेती गरिएकोमा दुई हजार आठ सय ५२ मेट्रिक टन किवी उत्पादन भएको थियो ।

किसानले करेसाबारीमासमेत किवी खेती गर्न थालेपछि उत्पादन वृद्धि भएको हो । गएको आर्थिक वर्षमा उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ६५ थियो । चालु आर्थिक वर्षमा बढेर प्रतिहेक्टर चार दशमलव २५ पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ ।

एक बोटमा दुई सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैँचीसमेत मासेर रोप्न थालिएको छ । रोपेको ३ वर्षदेखि उत्पादन दिने किवीले लगातार ५० वर्षसम्म उत्पादन दिने किसानको भनाइ छ ।

जिल्लाको इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा व्यावसायिक किवी खेती हुँदै आएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया