पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित, नेटोले निहुँ खोजे आणविक हतियार प्रयोग गर्ने चेतावनी

 चैत ५, २०८० सोमबार १८:१७:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । तीन जना प्रतिस्पर्धीलाई पछि पारेर पुटिन पाँचौँ पटक राष्ट्रपतिमा विजयी हुनुभएको रुसको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पुटिनले कुल मतको ८७ प्रतिशत मत प्राप्त गर्नुभएकाे आयोगले दाबी गरेको छ । चुनावमा ७४ प्रतिशतभन्दा धेरै मत खसेको र पुटिनले ८० लाख मत प्राप्त गर्नुभएकाे खबरमा उल्लेख छ ।

पश्चिमा देशहरूले भने पुटिनको निरङ्कुशताका कारण विपक्षीलाई उम्मेदवार बन्न नदिएको र अहिले प्रतिस्पर्धी भनिएकाहरू पुटिनकै नजिकका व्यक्ति भएको आरोप लगाएका छन् । अमेरिकाले चुनावलाई हास्यास्पद र नाटकको संज्ञा दिएको छ । जर्मनीले यो चुनावलाई सेन्सरशिप, दमन र हिंसाको बीचमा प्रोक्सी चुनाव भनेको छ । यस्तै बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रुसको चुनावको निन्दा गर्दै यसलाई अवैध भन्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाहहरूले नाटक गरेको आरोप लगाउनुभएको छ ।

तर चुनाव जितेपछि पत्रकार सम्मेलन गर्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशहरूको लोकतन्त्रभन्दा रुसको लोकतन्त्र र चुनाव धेरै विश्वसनीय रहेको बताउनुभएको छ । ‘यो चुनाव पारदर्शी र पूर्णरूपमा सही छ । अमेरिकाजस्तो होइन जहाँ १० डलरमा भोट किन्न सकिन्छ’, पुटिनले भन्नुभएको छ ।  उहाँले युक्रेनमाथिको आक्रमण नरोकिने र नेटोले रुसविरुद्ध कुनै कदम चालेमा आणविक हतियारको प्रयोग हुन सक्ने चेतावनी दोहोर्‍याउनुभएको छ ।

पत्रकारको एक प्रश्नमा चीनको प्रशंसा गर्नुभएका पुटिनले ताइवान चीनकै भूभाग भएको बताउनुभयो । रुसमा तीन दिनसम्म चलेको मतदान रुसले कब्जा गरेको युक्रेनी क्षेत्र जापोरिझिया, खेरसन, डोनेट्स्क र लुहानस्कमा पनि भएको थियो । यस्तै विदेशका सबै दूतावास र कुटनीतिक नियोगमा पनि अनलाइन भोटिङको व्यवस्था थियो ।

सन् १९९९ मा तत्कालीन राष्ट्रपति बोरिस इल्तसिन बिरामी परेपछि पुटिनलाई राष्ट्रपति बनाउनुभएको थियो । त्यसपछि सन् २००० देखि चार वर्षबाहेक पुटिन लगातार रुसको राष्ट्रपति हुनुहुन्छ । सन् २००८ देखि २०१२ सम्म भने उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । आलोचकहरूले उहाँलाई एक निरङ्कुश शासक भन्छन् । उहाँको विरोध गर्नेहरू कि त मारिने कि त जेलमा जानुपर्छ भनिन्छ ।

७१ वर्षका पुटिन राजनीतिसँगै खेलकुदमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । कराँतेमा उहाँ ब्ल्याकबेल्ट खेलाडी हुनुहुन्छ, घोडचढीमा पनि उहाँको विशेष दख्खल छ । पाककलामा पनि पुटिनको दख्खल छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया