हङकङमा मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता हुने

 चैत ७, २०८० बुधबार ९:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हङकङमा लिओनल मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता गरिने भएको छ । गएको फेब्रुअरी ४ मा इन्टर मियामी टुर अन्तर्गत हङकङ–११ सँग खेल्न अर्जेन्टिनी खेलाडी मेस्सी हङकङ पुगेका थिए ।

हङकङ–११ टोलीसँग मेस्सीको मियामीले खेल्ने भएपछि समर्थकले एक सय १० अमेरिकी डलर तिरेर टिकट काटेका थिए । विश्व फुटबलका स्टार मेस्सी आउने भएपछि खेल हेर्न ४० हजार टिकट बिक्रीमा राखिएको थियो । टिकट एक घण्टामै बिक्री भएको थियो ।

मेस्सीले खेलमा भाग नलिएमा कुनै रकम फिर्ता हुने छैन भनी टिकट खरिद गर्दा उल्लेख पनि गरिएको थियो । तर, मेस्सी यो खेलमा चोटका कारण नखेलेपछि समर्थकले असन्तुष्टी र विरोध जनाएका थिए । आयोजक ट्याटलर एशियाले खेलका लागि आधिकारिक च्यानलमार्फत् टिकट खरिद गर्नेलाई सर्शत ५० प्रतिशत रकम फिर्ता गर्ने जनाएको छ ।

रकम फिर्ता लिनेहरूले कुनै पनि अदालत, न्यायाधिकरण या नियामक प्राधिकरणमा उजुरी गर्न नपाउने आयोजकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया