इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

 चैत ९, २०८० शुक्रबार १२:४०:५३ | रासस
unn.prixa.net

इलाम – इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका झन्डै ७० घरका किसानले व्यावसायिकरूपमा सुपारी खेती गर्दै आएका छन् ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित हुन थालेका हुन् । उनीहरूले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका छन् । सुपारीसँगै अरू बाली पनि लगाउन सकिने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेका स्थानीय तीर्थ साउदेनले बताउनुभयो ।

यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताउनुभयो । एउटै किसानले पाँच हजार बोटसम्म सुपारी लगाउने गरेका छन् । उनीहरूले  एकै बोटबाट ५० किलोसम्म सुपारी उत्पादन गरेर किलोको ५० रुपैयाँमा बेच्ने गरेको बताएका छन् ।

इलामको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया