गाजामा युद्धविरामको माग गर्दै राष्ट्रसंघले प्रस्ताव पारित गरेपछि इजरायल अमेरिकासँग क्रुद्ध

 चैत १३, २०८० मंगलबार १८:२३:५९ | एजेन्सी
unn.prixa.net

गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाउन अस्वीकार गरेपछि इजरायलले वासिङ्टनमा हुने बैठक रद्द गरेको छ । हिजो सुरक्षा परिषद्ले पारित गरेको प्रस्तावमा इजरायलमा तत्कालै युद्धविराम गर्नुपर्ने र हमासले बन्धक बनाएका सबै बन्दी रिहाईको माग गरिएको छ । गाजामा भोकमरी रोक्नका लागि तत्काल कदम चाल्न आह्वान गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसअघि युद्धविरामको प्रस्ताबमा अमेरिकाले भिटो लगाउँदै आएकोमा हिजो भिटो लगाउन अस्वीकार गरेपछि इजरायल अमेरिकासँग क्रुद्ध बनेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले आफ्नो पहिलेको नीतिलाई त्यागेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

द्वन्द्वको शुरुदेखि नै अमेरिकाले सुरक्षा परिषद्को तीनवटा प्रस्ताब भिटो लगाएर असफल बनाएको थियो । रुस र चीनले पनि दुई वटा प्रस्तावमा भिटो लगाएका थिए । हिजो भने अमेरिकाले रमजान महिनाको बाँकी दुई हप्ताको लागि तत्काल युद्धविराम र सबै बन्धकको तत्काल र बिना शर्त रिहाईको माग गर्ने प्रस्तावमा मतदान गरेन ।

बेलायतलगायत अन्य १४ सदस्यले यसको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको थियो । युद्धविराम गर्नको लागि हमासले बन्धक रिहाई गर्नुपर्ने विषयलाई सर्त नबनाएको भन्दै इजरायल अमेरिकासँग रिसाएको हो । इजरायली प्रतिनिधिमण्डलले यसै हप्ता अमेरिका भ्रमण गर्ने योजना बनाएको थियो तर अमेरिकाले कुरा फेरेको भन्दै भ्रमण स्थगित भएको छ ।

गाजाका धेरै क्षेत्र इजरायलले ध्वस्त बनाएपछि १५ लाख जनाभन्दा धेरै प्यालेस्टाइनी शरणको लागि रफाहमा पुगेका छन् । त्यहाँ पनि इजरायले आक्रमण जारी राखेको छ भने सहायता सामग्री पुर्‍याउन दिएको छैन । लामो समयसम्म इजरायललाई समर्थन गरेको अमेरिकाले अहिले भने इजरायली आक्रमणको बिरोध गरेको छ । गएको अक्टोबर ७ तारिखयता इजरायलको आक्रमणमा ३३ हजार जनाभन्दा धेरै प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया