सडक विस्तारका कारण तनहुँको सडक धुलाम्य : सडक छेउका होटल सुनसान

 चैत १४, २०८० बुधबार १८:३:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – पृथ्वी राजमार्ग विस्तारका क्रममा निस्किएको धुलोका कारण तनहुँको सडक छेउछाउका होटल सुनसान बनेका छन् । धुलोका कारण यात्रुको खाजा र खाना खाने गन्तव्य बदलिँदा राजमार्ग अन्तर्गत तनहुँका होटलहरु सुनसान बनेका हुन् । पोखरादेखि नौबिसेसम्मको एक सय ७२ किलोमिटर सडक खण्डमध्ये तनहुँको ७२ किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।

धुलोका कारण होटलमा ग्राहक आउनै छाडेका व्यास नगरपालिका–१ नयाँपुलमा रहेको होटल सिंहका सञ्चालक भिमसिंह ठकुरीले बताउनुभयो । यात्रु खाना खान नआउँदा होटल अन्यत्र सञ्चालन गर्नुपर्छ की भन्ने उहाँको सोच छ । ‘सडक विस्तारअघि दैनिक १० हजार रुपैयाँभन्दा बढीको व्यापार हुन्थ्यो, उहाँले भन्नुभयो, ‘अहिले दैनिक  एक हजार रुपैयाँको व्यापार पनि हुँदैन ।’

यस्तै आँबुखैरेनी गाउँपालिका–१ एक्लेफाँटस्थित पृथ्वी राजमार्ग छेउमा होटल सञ्चालन गर्दै आउनुभएका दिवस अधिकारीको दैनिकीसमेत सिंहको भन्दा कम छैन । राजमार्ग विस्तारअघिको व्यापार पछिल्लो समय ह्वात्तै घटेको उहाँको भनाइ छ । धुलोले आहत भएपछि ग्राहक नआउँदा होटल बन्द गर्ने अवस्था आएको अधिकारी बताउनुहुन्छ । उहाँले व्यापार घटेपछि कर्मचारीसमेत कटौती गर्नुभएको छ ।

आँबुखैरेनी–१ एक्लेफाँटमा रहेको ओपनहार्ट रेष्टुरेण्टका सञ्चालक सुशिल बानियाँले राजमार्ग विस्तारको प्रभाव राजमार्ग छेउछाउका होटलमा प्रत्यक्ष रुपमा परेको बताउनुभयो । ‘राजमार्ग विस्तारबाट यहाँका होटलमा प्रत्यक्ष असर परेको छ,’ उहाँले भन्नुभयो, ‘राजमार्ग विस्तारपछि पहिलाको जस्तै व्यापार बढ्ने आशमा बसेका छौँ ।’

तनहुँको आँबुखैरेनी, एक्लेफाँट, याम्पा, नयाँ पुल, विमलनगर, डुम्रे, दमौली, थर्पु, जामुने, खैरेनीटार, बेलचौतारा, दुलेगौंडा, कोत्रेलगायत क्षेत्रमा राजमार्ग छेउछाउमा साना ठूला गरी करिव सात सय ५० होटल सञ्चालनमा छन् ।

क्षेत्रीय होटल सङ्घ तनहुँका अध्यक्ष राम जोशीका अनुसार सङ्घमा आवद्ध तनहुँका आठ सय होटलमध्ये भिमाद गाउँपालिका बाहेकको करिव पाँच सय ५० होटल राजमार्ग क्षेत्रमा पर्दछन् । त्यसैगरी सङ्घमा आवद्ध तनहुँका पाँच सय होटलमध्ये करिव दुई सय होटल राजमार्ग क्षेत्रमा पर्ने उहाँले बताउनुभयो ।

होटल व्यवसायी सङ्घ तनहुँका निवर्तमान अध्यक्ष तथा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराईको गुनासो पनि उस्तै छ । राजमार्ग विस्तारले प्रभावित होटललाई न्यून व्याजदरमा ऋणको व्यवस्था गर्न वित्तिय संस्थासँग माग गरे पनि सुनवाई नभएको वरिष्ठ उपाध्यक्ष भट्टराईको भनाइ छ । 

धुलो नियन्त्रणका लागि राजमार्गमा नियमितरुपमा पानी हाल्ने गरेको मुग्लिन–पोखरा सडक आयोजना कार्यालयका पश्चिम खण्डका ईन्जिनियर नारायण पौडेलले बताउनुभयो । तर सडक निर्माण भइरहेको क्षेत्र धुलोका कारण समस्याग्रस्त छ ।

मुग्लिन पोखरा सडक आयोजनाको पूर्वीखण्ड आँबुखैरेनीदेखि जामुनेसम्म ४१ किलोमिटर सडकको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँमा लिएको छ । कम्पनीले २०७८ साल वैशाख २ गतेदेखि काम सुरु गरेको हो । अहिले यस खण्डमा ५३ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको मुग्लिन पोखरा सडक आयोजनाका पूर्वीखण्ड प्रमुख स्याम यादवले बताउनुभयो ।

त्यसैगरी जामुनेदेखि पोखरा सडक खण्डको ३८ किलोमिटर सडक विस्तार चिनिया कम्पनी एनहुई केयुनन हाइवे एण्ड ब्रिजले पाएको छ । कम्पनीसँग २०७८ साल जेठमा पश्चिम खण्ड विस्तार गर्न सात अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको र अहिलेसम्म २० प्रतिशत काम भएको आयोजनाका पश्चिम खण्डका ईन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया