युट्युबकाे सदुपयोग गर्दै वडाध्यक्षले शुरू गरेकाे च्याउखेती
माघ २, २०८१ बुधबार
काठमाण्डौ – नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य देश इजरायलबाट आठ सय जना नेपाली कामदारको माग भएको छ । इजरायलले मासिक कम्तीमा दुई लाख रुपैयाँ तलब दिने गरी आठ सय नेपाली केयर गिभरको माग गरेको हो ।
वैैदेशिक रोजगार विभागले हिजो एक सूचना निकालेर शुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने जनाएको छ । आठ सयमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् । दुवै देशको सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ ।
इजरायलमा नेपाली केयर गिभरको तलब मासिक दुई लाख १० हजार छ भने करार अवधि एक वर्षको भए पनि थपेर पाँच वर्षसम्म बस्न पाइने हुन्छ । विभागले २१ दिनको समय दिएर हिजोदेखि आवेदन खुला गरेको हो । दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलमा रोजगारीका लागि नेपालीलाई पठाउने प्रक्रिया शुरु हुनेछ ।
केयर गिभरको रोजगारीमा जानका लागि नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमी वा सीएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिनुपर्ने योग्यता तोकिएको छ । इजरायलमा केयर गिभरका रूपमा नेपाली कामदार लैजान सन् २०१५ मा पहिलोपटक दुवै देशबीच सम्झौता भएको थियो ।
अहिले इजरायलमा झन्डै १३ सय जना नेपाली केयर गिभरका रूपमा काम गरिरहेको विभागले जनाएको छ । केयर गिभरका लागि योग्यता पुगेका युवाले विभागको वेबसाइटमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ ।
आवश्यक योग्यताहरु :
– २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
– अनमी वा सीएमए पढेको वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङ विषयमा कम्तीमा तीन महिनाको तालिम लिएको
– कम्तीमा १.५ मिटर उचाइ र ४५ किलो तौल भएको
– पासपोर्टको म्याद कम्तीमा तीन वर्ष कायम रहेको
– आफूमात्र होइन, बाबु, आमा, पति, पत्नी, छोराछोरीसमेत इजरायल नगएको हुनुपर्ने ।