सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डौ – आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यसपाली ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।
१९९० साल माघ २ गतेको महाभुकम्पको सम्झनामा २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । नेपालमा मात्रै साढे आठ हजार जना भन्दा धेरैको ज्यान लिएको १९९० सालको भूकम्पबारेमा धेरै अभिलेखहरु पाइदैन । सुनिदै र सुनाउँदै आएका जानकारीका आधारमा त्यो विपद् निकै भयानक थियो ।
अहिलेको पुस्ताले भोगेको विनासकारी भूकम्प २०७२ सालको हो । यो भूकम्पमा पनि झण्डै नौ हजार नागरिकले ज्यान गुमाएका थिए । भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।
अझै पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन–२०७१ तर्जुमा गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताउनुहुन्छ । ‘विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो’, उहाँले भन्नुभयो, ‘यसका लागि हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोधि हुनैपर्छ ।
यो दिवस भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै, हाम्रा कमीकमजोरीलाई पनि सुधार गर्ने लक्ष्यका साथ आइरहेका छौ ।’ भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यससम्बन्धी प्रचारप्रसार आवश्यक भएकोमा उहाँको जोड छ ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ ।
उहाँका अनुसार भूकम्पको सम्भाव्य अवस्थालाई पूर्वआंकलन गरी प्रभावकारी र द्रुत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै आवश्यक छ ।
भवन संहिता कार्यान्वयनका लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रहरुमा आवश्यक कार्यहरु निरन्तर रुपमा भइरहेको महर्जनले बताउनुभयो ।
विगतका भूकम्पबाट पाठ सिकेर भवनको नक्सा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधिसहितको भवन निर्माण संहिता अद्यावधिक गरी लागू गरिएको उहाँको भनाइ छ ।
खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन्ने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउनुहुन्छ ।
सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको जोड छ ।
पूर्वतयारीको अभाव
पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ । पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीको भनाइ छ । कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरु अस्थायी आवासमै कष्टपूर्ण रुपमा बस्नु परेको उहाँले बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोटको भूकम्पबाट प्रभावित भइ पुनःनिर्माण गर्नुपर्ने निजी आवासको सङ्ख्या ९५ हजार सात सय ८७ रहेको जनाएको छ ।
भूकम्प,बाढीपहिरो जस्ता प्राकृतिक विपदबाट क्षति पुगेका विभिन्न संरचनाहरुको पुनःनिर्माण तथा पुनःस्थापना योजनाकाे कार्यान्वयनका लागि एक खर्ब एक अर्व १२ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
भूकम्प प्रतिरोधी संरचनामा जोड
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा.रमेश गुरागाईले नयाँ बन्ने संरचनाहरु भूकम्प प्रतिरोधि बनाउन आवश्यक रहेकोमा जोड दिनुहुन्छ । भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी नै गर्न सकिँदैन तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरुप पूर्वतयारी गर्न सकिने उहाँको भनाइ छ ।
यो भनेको भूकम्प प्रतिरोधी संरचना बनाउने, बनिसकेका संरचनाहरुलाई सुधार गर्ने र अन्य पूर्वतयारीका गतिविधि नै हो । भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय सङ्कल्प आवश्यक रहेकोमा उहाँको जोड छ ।
इञ्जिनियर अमितप्रसाद तिमल्सेनाले भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । ‘अधिकांश घर र संरचना निर्माणमा मापदण्ड पालना भएको छैन, भवन निर्माण संहिता कार्यान्वयन भए नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ’, उहाँले भन्नुभयो ।
जोखिम अवस्था
नेपाल विश्वका अरु देशहरुको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औं स्थानमा रहेको विभिन्न अध्ययनहरुले जनाएका छन् । तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरु आपसमा टकराब हुँदा हिमालय क्षेत्रको जमिनमुनी शक्ति थुप्रन्छ । त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरु बताउँछन् ।
एक पटक ठूलो भूकम्प गएपछि त्यहाँ शक्ति संचय हुन समय लाग्ने विज्ञहरु बताउँछन् । विज्ञहरुले नेपालको पश्चिमी क्षेत्रमा भूकम्प नगएको लामो समय भएकोले उच्च जोखिम रहेको बताइरहँदा पछिल्ला केही वर्षदेखी पश्चिमी क्षेत्रमा भुकम्प जाने क्रम बढेको छ । जाजरकोट, डोटी, बझाङ लगायतका जिल्लामा गएका भूकम्पले पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम रहेको जनाउँछ ।
आजदेखि लाभग्राहीसँगको सम्झौता शुरु गरी पुनःनिर्माण थालनी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव डा.भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने जानकारी दिनुभएको छ ।
गएको आइतवार बसेको विपद् राष्ट्रिय परिषद्को १६ औं बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चातकाे पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।
बैठकले योजना बमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देशन दिएको प्राधिकरणले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।