नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुको अवरोध, सरदर मितिभन्दा ढिला नहुने

 जेठ २७, २०८१ आइतबार ७:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुले अवरोध गरेको छ । यसअघि भारतको सिक्किमसम्म आइपुगेको मनसुन नेपाल आउने सरदर मिति जुन १३ भन्दा ४–५ दिन अगाडि नै भित्रने अनुमान रहे पनि पश्चिमी वायुको प्रभावका कारण सरदर मितिकै आसपासमा भित्रने सम्भावना बढेको हो ।

अहिले पश्चिमबाट पूर्वतर्फ वहने हावाले सामान्य अवरोध गरेकोमा भरे राति वा भोलि बिहानदेखि पूर्वबाट पश्चिम वहने हावाको चाप बढ्ने भएकोले मनसुन भित्रन सहयोग पुग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन नेपाल भित्रिएको मापदण्ड पूरा हुने क्रममा रहेकोले मनसुन भित्रने सरदर मितिभन्दा ढिला नहुने सम्भावना छ ।

भरे रातिदेखि पूर्वबाट पश्चिम वहने हावाको चाप बढी भएमा सरदर मितिभन्दा एक–दुई दिन अघि नै मनसुन भित्रने सम्भावना रहने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणाली पूर्वबाट पीश्चतर्फ बहन्छ । नेपालको पूर्वी भेगमा मनसुन प्रवेश गरेपछि पनि पश्चिम नेपाल पुग्न एक हप्तासम्म लाग्छ ।

यसैबीच आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च जोखिम नभए पनि सामान्यभन्दा बढी हावाहुरी चल्ने भएकोले सावधानी अपनाउन अनुरोध गरेको मौसमविद् पुडासैनीले बताउनुभयो ।

स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा बदली भइ सामान्य पानी पर्ने सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया