युद्धविराम सम्झौता लागू भएपछि दक्षिणी लेबनानका बासिन्दा घर फर्किन थाले

 मंसिर १२, २०८१ बुधबार १८:२५:१ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता लागू भएपछि मानिसहरू घर फर्कन थालेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज बिहानै युद्धविराम सम्झौताको घोषणा गर्दै तत्कालै कार्यान्वयन गर्न आग्रह गरेपछि इजरायल सहमत भएको हो ।

इजरायलले आफ्नो उत्तरी क्षेत्रबाट विस्थापित भएका नागरिकलाई अझै पनि घर फर्कन अनुमति दिएको छैन । तर दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौं नागरिक घर फर्कन थालेका बीबीसीले जनाएको छ । दक्षिण लेबनान जाने राजमार्गमा मानिसहरू जयजयकार गर्दै यात्रा गरिरहेका खबरमा उल्लेख छ । लेबनान र इजरायलको सिमानामा रहेका गाउँबाट ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका थिए ।

गएको वर्षको अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेर १२ सय जनाभन्दा धेरैको ज्यान लिएको थियो । त्यसको जवाफमा इजरायलले गाजा नै ध्वस्त हुनेगरी आक्रमण गरेपछि हिजबुल्लाहले इजरायलमा मिसाइल हान्न शुरू गरेको थियो । इजरायलले लेबनानको राजधानी बेरुतसहितका शहरमा दिनहुँजसो शक्तिशाली मिसाइल र हवाई आक्रमण गरिरहेको थियो । केही महिनादेखि इजरायली सेना लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण थालेपछि युद्ध झनै बढेको थियो । इजरायली आक्रमणबाट एक वर्षको बीचमा चार हजार जनाभन्दा धेरै लेबनानीको ज्यान गएको छ ।

आज भएको युद्धविराम सम्झौताअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछन् । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ ।

हिजबुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गरेमा आक्रमण गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिनुभएको छ । हिजबुल्लाहले यसलाई आफ्नो विजयका रूपमा लिएको छ  । तर इजरायली प्रधानमन्त्री नेतान्याहुले पनि हिजबुल्लाहलाई अब केही वर्षसम्म उठ्न नसक्नेगरी कमजोर बनाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया