रक्षामन्त्री मानवीर राई नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा : उद्धारसँगै राहत वितरणको काम शुरु

 भदौ १, २०८१ शनिबार १०:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेको बाढी प्रभावित क्षेत्रमा अवस्था बुझ्न र प्रभावितलाई उद्धार तथा राहतका लागि रक्षामन्त्री मानवीर राईको नेतृत्वमा टोली पुगेको छ । रक्षामन्त्रीसहितको टोली बिहान प्रभावित क्षेत्रमा पुगेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिनुभयो ।

टोलीमा रक्षामन्त्री राईसहित सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीलगायत रहेका छन् । थामे खोलामा हिजो दिउँसो लेदोसहितको बाढी आउँदा एक जना बेपत्ता भएका छन् । विस्थापित एकसय ४० जना आफन्तको घर र होटलमा बसेका छन् ।

बाढीले २० वटा घरसहित विद्यालय, होटल र क्लिनिकमा क्षति पुर्‍याएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार उद्धार र राहत वितरणको काम भइरहेको छ । थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान गर्नेक्रम निरन्तर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने रोकिएको छैन । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा झण्डै दुई सय मिटर पदमार्ग कटान गरेको छ । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

खुम्बु क्षेत्रबाट हिमताल फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । तर अझै पनि यकिन भइनसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया