तारा एयरले आजदेखि पोखरा–जोमसोम उडान गर्दै

 भदौ १८, २०८१ मंगलबार ७:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा आजदेखि पुनः उडान शुरू गर्दैछ । मौसमको प्रतिकूलका कारण उडान बन्द भएको पोखरा–जोमसोममा आजदेखि नियमित उडान गर्न लागेको कम्पनीले जनाएको छ ।

पर्यटकीय ‘सिजन’ शुरू हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।

तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङको जोमसोम विमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ । पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण गएको असार १७ गतेदेखि स्थगित भएको थियो ।

जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालका अनुसार दुई महिनापछि समिट एअरलायन्सले गएको बिहीवारदेखि नै उडान भर्न शुरू गरेको थियो । 

यसैबीच पर्यटकीय सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० तारिखदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटकीय सिजनमा उडान गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया