अङ्गदानमा नातेदारको परिभाषा फराकिलो बनाउन सर्वोच्चको आदेश

 भदौ २२, २०८१ शनिबार ९:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले नातेदारसम्बन्धी हालको कानुनी परिभाषालाई फराकिलो बनाएर अङ्गदानलाई सहज बनाउन सरकारलाई भनेको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र कुमार चूडालको इजलासले मामा–फुपूका छोराछोरीबीच पनि मिर्गौला दान हुन सक्ने गरी बाटो खुलाइदिएको छ ।

२०८० साउन ८ मा भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै सर्वोच्चले यही फैसलाबमोजिम कानुन संशोधनको प्रक्रिया अघि बढाउन सरकारलाई भनेको छ ।

अन्तर्राष्ट्रिय र तुलनात्मक कानुनहरूमा आएको परिवर्तन, चिकित्सकीय आवश्यकता, अङ्ग ग्रहणकर्ताको बाँच्न पाउने हकजस्ता पक्षहरूको सम्बोधन गर्न तथा अङ्गदानमा निःस्वार्थ परोपकारको उद्देश्यलाई क्रियाशील बनाउन हाल कायम मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ का व्यवस्था बाधक देखिएको सर्वाेच्चको ठहर छ ।

ऐनमा नजिकको नातेदारको परिभाषामा अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भाञ्जा, भाञ्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठान समेटिएको छ ।

यस्तै दुई फरक–फरक बिरामीका आफन्तबीच पनि आपसी सहमतिमा मिर्गौला आदान–प्रदान हुन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।

मानव अङ्ग प्रत्यारोपणमा आर्थिक कारोबार, दबाब तथा प्रभावको सम्भावनालाई निराकरण गर्न र अङ्ग लिनेदिने सम्बन्धमा पारदर्शिता कायम गर्न अङ्गदाताको परिवारको आर्थिक हैसियत, पारिवारिक विवरण एवम् सहमतिजस्ता विश्वासप्रद शर्तहरू तोकी प्रचलित कानुनमा तोकिएका नातेदारलाई मात्र सीमित नराखी आवश्यक परिमार्जन गर्न सर्वोच्चले भनेको हो । 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया