‘पदअनुकूल आचरण नगरेको’ भन्दै उपसभामुखलाई हटाउने सत्तापक्षको तयारी

 भदौ २६, २०८१ बुधबार ९:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उपसभामुख इन्दिरा राना मगरले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै सत्तारूढ दलहरूले उहाँलाई हटाउने तयारी गरेका छन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् ।

उपसभामुखविरुद्ध हस्ताक्षर सङ्कलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हिजो बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएकोबारे प्रधानमन्त्रीको धारणा बुझ्न खोज्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले भने संसद्मा उठेको विषय त्यहीँ निराकरण हुने जवाफ दिनुभएको छ । उपसभामुखले सकभर राजीनामा दिएर मार्गप्रशस्त गराउने सत्तारुढ दलहरूको प्रयास रहेको बुझिएको छ । तर उपसभामुख भने राजीनामा दिने मनस्थितिमा हुनुहुन्न ।

उपसभामुखले मार्गप्रशस्त नगरेमा उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ । यसबारे थप रणनीति बनाउन कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

उपसभामुखले पद अनुकूलको आचरण नगरेमा एक चौथाइ सदस्यले संसद प्रस्ताव दर्ता गर्न सक्ने र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदको अंकगणितलाई मध्यनजर गरेर सत्तापक्षले उपसभामुख रानामाथि निसाना साँधेको टिप्पणी भइरहेको छ ।

यसअघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसैबेला पनि संसदमा यो विषय उठेको थियो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया