सुदूरपश्चिम प्रदेश सरकारले पर्सि सोमवार फेरि बजेट ल्याउने

 भदौ २९, २०८१ शनिबार १५:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि फेरि बजेट ल्याउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर पर्सि सोमवार बजेट ल्याउन लागेको जानकारी गराउनुभएको हो । यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागेको उहाँले बताउनुभयो ।

यसअघि नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो । प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको छ ।

मुख्यमन्त्री शाहले यसअघि सदनमा प्रस्तुत भएको बजेटमै सामान्य पुनरावलोकन गरेर नयाँ बजेट ल्याउने तयारी गरिएकोे बताउनुभयो । प्रदेश सरकारले योजनाका लागि २५ लाख भन्दामाथिको सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा पालिकालाई वित्तीय हस्तान्तरण गर्ने तय गरेको छ ।

त्यस्तै प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको पनि मुख्यमन्त्री शाहले बताउनुभएको छ ।

यसअघि ल्याएको बजेट पारित नहुँदा प्रदेश सरकार उधारोमा काम गरिरहेको छ । समयमा बजेट नआउँदा प्रदेश सरकारका योजना ठप्प छन् । प्रदेश सरकार मातहतका कर्मचारीले तलबसमेत पाउन सकेका छैनन् ।  

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया