उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – पहिरोका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा आएको छ । सडक खुलेपछि हल्का गाडी र मालबाहक कन्टेनर हिजो दिउँसोदेखि गन्तव्यतर्फ प्रस्थान गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर दुरीमा दर्जनौँ ठाउँमा खसेको पहिरो सुरक्षा निकायको सहयोगमा सडक विभागको डोजरले हटाएको थियो ।
सामान लिनका लागि तिब्बतको केरूङतर्फ जान लागेका ४० वटा कन्टेनर डिब्बा पहिरोका कारण स्याफ्रुबेँसीको आसपास नै रोकिएका थिए भने मालसामग्री बोकी केरूङबाट नेपाल भित्रिएका दुई सय कन्टेनर रसुवागढी भन्सार हातामा रोकिएका थिए ।
अहिले भने सबै गाडी क्रमिक रूपमा ओहोरदोहोर भइरहेका छन् । रसुवागढीमा रोकिएका कन्टेनरहरूमा दशैँ लक्षित लत्ताकपडा, जुत्ता, चप्पल, रोलकपडा, थर्मस, इलेक्ट्रोनिक्सका सामग्रीका साथै स्याउ, लसुन तथा अदुवासमेत रहेका थिए ।
रसुवागढी नाकाबाट दशैँका लागि ४६ डिब्बा तयारी पोशाक, ११ ट्रक स्याउ, दुई ट्रक हलुवावेद र दुई ट्रक अनारसमेत मितेरी पुलबाट नेपाल भित्रिसकेको शसस्त्र प्रहरी बल २० नम्बर गुल्मले जनाएको छ । सडकको दायाँबायाँ धेरै ठाउँ भिरपाखो भएका कारण सुरक्षाको स्थितिलाई मध्यनजर राखी रातको समयमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ ।
यसैबीच पहिरोले रसुवागढीको मितेरी पुलदेखि तिब्बतको केरूङ खण्डको चिनियाँ राजमार्ग भने बन्द भएको सीमा सुरक्षाकर्मीले बताएका छन् । चिनियाँ भागको ठोङ्सा नजिकको पहिराले सडकमा ठूलो क्षति भएको छ, तर चिनियाँ पक्षले मर्मतको काम अगाडि नबढाएको स्थानीय प्रशासनको भनाइ छ ।
त्यही कारण केरुङ जाने प्रतिक्षामा रहेका ट्रकहरु रसुवागढीमै रोकिएका छन् । केरूङ–रसुवागढी सडकखण्डमा ठाउँठाउँमा निकै ठूला पहिरा गएका कारण यातायात अवरुद्ध छ । कैलाश मानसरोवरको दर्शन गरेर फर्कने नेपाली र अरु देशका नागरिकलाई नेपालतर्फ ल्याउन पहल भइरहेको प्रशासनले जनाएको छ ।
चिनियाँ अधिकारीले छिटो सडक नबन्ने बताएपछि रसुवागढी–केरूङ–रसुवागढी ओहोरदोहोर हाललाई अनिश्चित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।