धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४ सय केभी क्षमताको सबस्टेशन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन बाह्रबिसे सबस्टेशन निर्माण शुरू गरिएको हो । यही ठाउँमा २२०/१३२ केभी र १३२/११ केभी सबस्टेशन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ ।
ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित बाह्रबिसे सबस्टेशनका सम्पूर्ण उपकरण निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचनाको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।
नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएपछि उपकरणकाे जडान शुरू हुनेछ । सबस्टेशनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेशन निर्माण आउँदाे जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजाे शनिवार सबस्टेशन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘४ सय केभी बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको बिजुली यही सबस्टेशनमा जोडी बाह्रबिसे–खिम्ती ४ सय केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ, हिउँदयाममा खिम्तीतर्फबाट काठमाण्डाै उपत्यकामा थप बिजुली ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप बिजुली पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ, त्यसैले सबस्टेशन निर्माणलाई उच्च प्राथमिकतामा राखी बाँकी रहेका काम द्रूत गतिमा अगाडि बढाऔँ ।’
खिम्ती, बाह्रबिसे र लप्सीफेदी ४ सय केभी सबस्टेशन आयोजनाअन्तर्गत तीन वटा सबस्टेशन निर्माणाधीन छन् । तामाकोशी–काठमाण्डाै २ सय २०/४ सय केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापमा रहेकाे नयाँ खिम्ती सबस्टेशनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।
वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयवासीको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाण्डौ प्रसारण लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने १ सय १८ वटा टावरमध्ये १ सय १७ वटाकाे जग हालिएको छ । १ सय १५ वटा टावर खडा गरिएको छ । ३६ किलोमिटर तार तानिएको छ । बाँकी एउटा टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आउँदाे माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
त्यस्तै बाह्रबिसेबाट काठमाण्डाैको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४ सय केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १ सय २२ वटा टावरमध्ये १ सय १८ वटाको जग हालिएको छ । १ सय १७ वटा टावर खडा गरिएको छ । ४२ किलोमिटर तार तानिएको छ । बाँकी टावरको काम भइरहेको छ ।
खिम्ती–बाह्रबिसे–काठमाण्डाै हुँदै प्रवाह भएको बिजुलीलाई काठमाण्डाै उपत्यकामा ल्याउन लप्सीफेदी–चाँगुनारायण १ सय ३२ केभी प्रसारण लाइन अगाडि बढाइएको छ । स्थानीयवासीको अवरोधका कारण निर्माण प्रभावित छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले निर्माण गर्ने ४ सय केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि लप्सीफेदीबाट बिजुलीलाई नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) भुमहीमा रहेकाे नयाँ बुटवल सबस्टेशनतर्फ प्रवाह गराउन सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।