रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले अनुसन्धान गर्दै

 पुष ४, २०८१ बिहीबार १०:५३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको भनिएको एउटा तस्वीर गएरातिदेखि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछाने जस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा यो तस्वीर राख्दै रास्वपाका नेता दीपक बोहराले कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुने समेत उल्लेख गर्नुभएको छ ।

रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् । 

फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न पक्ष–विपक्षमा भइरहेको छ । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न उठाएका छन् । 

रास्वपा समर्थक डा.निकोलस भुसालले तस्बिर आफूले खिचेको दाबी गर्नुभएको छ । लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका भुसालले दुई दिनअघि  फेसबुकमा यो तस्वीर राखेर हटाएको भन्दै फेसबुकमा चर्चा भइरहेको छ । ‘यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भयो, माफी चाहान्छु’ भुसालले फेसबुकमा लेख्नुभएको छ । 

प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘हिरासतभित्रको तस्वीर कसैले पनि सार्वजनिक गर्न मिल्दैन, हामी यसबारे अनुसन्धान गरिरहेका छौँ’ नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले उज्यालोसँग भन्नुभयो ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया