सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो

 माघ २७, २०८१ आइतबार १८:२१:३७ | रासस
unn.prixa.net

फाइल फाेटाे

दाङ – सिमसार क्षेत्रको संरक्षणले दाङमा पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो ।

गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयवासीको पहलमा जलाशय बनेको थियो । अहिले त्यही जलाशय मानिसको मात्र नभई स्वदेशी तथा विदेशी चराको आकर्षणको केन्द्र बनेको जलाशय उपभोक्ता समितिका अध्यक्ष छित्रु चौधरीले बताउनुभयो ।

यहाँ आगुन्तुक चरा आउने गरे पनि यसको संरक्षणका लागि सरकारीस्तरबाट पनि काम गर्न आवश्यक रहेको चाैधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलाशय त बन्यो विदेशी चरा आएका छन्, यसको संरक्षण कसरी, कहाँ गएर गर्ने भन्ने अझै अन्योल छ ।’ जलाशयबाट सिँचाइ गर्ने काम भए पनि चरा संरक्षणका लागि धेरै काम गर्न बाँकी रहेको उहाँ बताउनुहुन्छ ।

दाङका जलाशय, नदी तलाउमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउँछन् । दाङमा पाइने चरा र आगन्तुक चराका बारेमा अध्ययन गर्दै आउनुभएका लालमणि रेग्मीले कृत्रिम जलाशय, सीमसारसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभलाग्दो रहेको बताउनुभयो ।

नेपालमा चीन, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट चिसो छल्न चरा नेपाल आउने गरेका छन् । तीमध्ये धेरैजसो चरा दाङका जलाशयमा भेटिन्छन् । चरा असोज तथा कात्तिकमा आइपुग्ने र बढीमा ६ महिनासम्म बस्ने गरेको चरा विज्ञ चिरञ्जीवी खनालले बताउनुभयो । दाङमा २८ प्रजातिका जलपक्षी पाइने गरेको जलपक्षी तथा वन्यजन्तु संरक्षणकर्मी खनालले बताउनुभयो ।

घोराहीका मेयर नरुलाल चौधरी कुनै समय सुकेका ठाउँमा पनि अहिले जलमग्न भएको बताउनुहुन्छ । कृत्रिम जलाशयले गर्दा चराको वासस्थान भएको उहाँको भनाइ छ । त्यसका कारण बाहिरी देशबाटसमेत उहाँ चरा आउने गरेका छन् ।

कृत्रिम ताललाई भोलिका दिनमा अझै प्रवर्द्धन गर्दै जलपक्षीको पनि संरक्षणमा लाग्ने उहाँ बताउनुहुन्छ । जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारीखेती, फलफूलखेती समेत गरिरहेका मेयर चाैधरीकाे भनाइ छ । खासगरी सुक्खा हुँदै गएको घोराहीलाई जोगाउनसँगै सिँचाइ सुविधा पुगेको उहाँ बताउनुहुन्छ ।

घोराहीका विभिन्न वडामा अहिले ४० बढी जलाशय निर्माण गरिएको छ । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्‍याउने समेत अपेक्षा गरिएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार गएकाे वर्ष गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ साना क्षेत्रमा ७९ प्रजातिका ६३ हजार ९ सय जलपक्षी छन् । जानकारका अनुसार संसारमा चराका १० हजार प्रजाति छन् भने त्यसको झन्डै नौ प्रतिशत नेपालमा पाइन्छन् ।

ती चराको संरक्षण गरेर बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भए पनि नेपालमा जलपक्षीको गणनाबाहेक अरू काम हुन नसकेको विज्ञहरू बताउँछन् ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया