६ महिनामै अनलाइन ठगीका १० हजारभन्दा धेरै उजुरी

 फागुन १, २०८१ बिहीबार १५:४९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो ६ महिनामा अनलाइन ठगीका १० हजार सात सय वटाभन्दा धेरै उजुरी दर्ता भएका छन् । साउनदेखि पुस मसान्तसम्म दर्ता भएका उजुरीमा ६२ करोड रुपैयाँभन्दा धेरै ठगी दाबी भएको नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क छ ।

साइबर ठगीसम्बन्धी घटनाहरू साइबर ब्युरोमै दर्ता गर्नुपर्ने भएकोले सानातिना ठगीका घटनाहरू प्रहरीसम्म पुग्दैनन् । अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगीका १९ हजार सात सय ३० वटा उजुरी दर्ता भएका थिए । सबैजसो ठगीको शुरुआत सामाजिक सञ्जालबाट भएको पाइएको ब्युराेका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउनुहुन्छ ।

धेरैजसो घटना सामाजिक सञ्जालमा राखेका विज्ञापनमा लोभिएर हुन्छ । कतिपयले भाइबर, ह्वाट्सएप लगायतमा सन्देश पठाएर ठगी गर्छन् । साइबर ब्युरोको तथ्याङ्कानुसार चिट्ठा वा उपहारको बहानामा हुने ठगी धेरै छ ।

यस्तै भाडामा सस्तो मूल्यमा कोठा वा फ्ल्याट दिलाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन हुने घटना पनि धेरै छ । अनलाइनमार्फत सामान खरिद गर्दा अग्रिम भुक्तानी गर्न लगाउने र रकम पाएपछि सम्पर्कविहीन भएका घटना पनि छन् । अनलाइन किनमेलमा कतिपयले नागरिकता लगायतका कागजपत्र मागेर पछि दुरुपयोग गरेको पनि पाइन्छ ।

यस्तै आफ्नो सम्पत्ति सम्हाल्ने कोही पनि नभएको भन्दै उत्तराधिकारी बन्न आग्रह गर्ने र कर वा खर्च भन्दै रकम लिएर सम्पर्कविहीन हुने घटना पनि छन् । कतिपयले आकर्षक रोजगारीको प्रलोभन देखाएर रकम ठगेका पाइन्छ । 'वान टाइम पासवर्ड' (ओटीपी) मागेर बैंक खाता वा मोबाइल वालेट ह्याक गरेर ठग्ने घटना पनि भएका छन् ।

महिलाको आकर्षक तस्वीर प्रयोग गरेका ह्वाट्सएपबाट भिडिओ कल गरी अन्तरङ्ग तस्वीर वा भिडियो लिएर साथी वा आफन्तलाई पठाउने धम्की दिएर पैसा असूल्ने घटना पनि उत्तिकै हुने गरेका छन् ।

यस्ता ठगीबाट बच्न आफू सचेत हुनु नै सबैभन्दा उत्तम उपाय रहेको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया