३ अर्बकाे नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन

 फागुन १४, २०८१ बुधबार १८:१६:४९ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।

कार्यालयले आज सूचना निकालेर नागरिक बचतपत्र–२०८६ र वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्कासनसम्बन्धी जानकारी दिएको हो । ५ वर्ष अवधिका नागरिक बचतपत्रमा ७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे ८ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

भोलिदेखि आउँदो चैत १५ गतेसम्म बचतपत्रकाे बिक्री खुला रहने छ । निष्कासित रकम बराबरको आवेदन परेमा तोकिएको अवधिभन्दा पहिले नै बन्द गर्ने सूचनामा उल्लेख छ । बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ ।

घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् । बचतपत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी नहुँदा निष्कासन गरिएको रकमभन्दा कम आवेदन पर्ने गरेका छन् ।

यसअघि कार्यालयले गएको मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र २०८६ (क) मा झन्डै १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो । सहज र सुरक्षित तरिकाले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा २ देखि साढे २ प्रतिशत विन्दुले बढी हो ।

यसमा सरकारले मूलधनको सुनिश्चित गरेको हुँदा सुरक्षित लगानी मानिन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया